काठमाडौँ, असोज २ । चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकाङ्क सकारात्मक रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले साउन र भदौ महिनामा रु एक खर्ब २० अर्ब राजश्व जम्मा भएको तथा चालू खर्च रु ९६ अर्ब र पूँजीगत खर्च रु छ खर्ब भइसकेको बताए ।
गत वर्षको सोही अवधिभन्दा यस वर्ष ३७ प्रतिशतले राजश्व सङ्कलन बढेको भएपनि पूँजीगत खर्च भने सन्तोषजनक रहन नसकेको उनको भनाइ छ ।
मन्त्री खतिवडाले तरलताको अवस्था (लगानीयोग्य रकम) को अभाव नरहेको, पूँजी बजारमा सुधार आइरहेको करको दायरा वृद्धि हुँदै गएको र कर्जाको ब्याजदरमा सुधार देखिएको बताए ।
उनले राजश्व र आम्दानीको खर्च प्रणालीलाई पारदर्शी बनाउनका लागि विद्युतीय (इ) सेवा सञ्चालनमा आएको, ऊखु किसानलाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गरिएको, सार्वजनिक नीति लगानीसम्बन्धी विधेयक पेश हुने तयारीमा रहेको जनाएका छन् ।