महिला हिंसा नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

काठमाडौँ, असोज २ । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनीहरुले पछिल्लो समयमा महिलामाथि हुने बलात्कार, हत्या र हिंसाका घटना वृद्धि भन्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्मलाको हत्या भएको लामो समय बितिसक्दा पनि दोषीलाई कारवाही गर्न नसक्दा कानूनी शासन र सरकारको सामथ्र्यमाथि नै प्रश्न चिह्न खडा भएको बताए । बैठकमा सांसद बसन्तकुमार नेम्वाङले संविधान कार्यान्वयन गर्न मौलिक हक कार्यान्वयनका लागि आवश्यक विधेयक पारित भएकोमा खुशी व्यक्त गर्दै अब विकास निर्माणतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सांसद बिन्दा पाण्डेले मौलिक हकको कार्यान्वयनले अन्य वर्ग र समुदायसँगै महिलालाई पनि विशेष अधिकार प्रदान गर्ने भन्दै यसले महिला हिंसामा कमी आउने विचार व्यक्त गरिन् । सांसद विमला विश्वकर्माले सुखी नेपाली समृद्ध नेपालको मूल उद्देश्य प्राप्तिका लागि अब आर्थिक र विकास निर्माणका काम समयमै गर्न बजेट निकास हुनुपर्नेमा जोड दिइन् ।

सांसद विशाल भट्टराईले खोटाङको जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारको कमी हँुदा जनताको उपचारमा समस्या देखिएको अवगत गराउँदै अस्पतालमा ५० श्ययाको व्यवस्था गर्न माग गरे ।

सांसद शान्ता चौधरीले सरकारमाथि आलोचना गर्न साना विषयलाई पनि पहाड बनाइएको भन्दै सरकारमाथि चौतर्फी आक्रमण भएको उल्लेख गरे ।

सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै उक्त क्षेत्र अन्तर्गत बाटोमा पर्ने केही पुल चाँडो बनाउनका लागि माग गरे ।

सांसद सत्यनारायण शर्मा कुमालले निर्मला पन्तको हत्याका दोषी पत्ता लगाउन ढिलाइ भएको भन्दै न्यायका लागि निर्मलाका बुबाआमाले प्रधानमन्त्रीलाई भेट्नुपर्ने अवस्था किन आयो भन्दै प्रश्न गरे ।

सांसद सरिताकुमारी गिरीले सप्तरीमा हङकङ स्वाइनफ्लुबाट बालबालिकाको मृत्यु भएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारसँग माग गरेकी छिन् । सांसद सञ्जयकुमार गौतमले बर्दियामा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जनता बाघ, हात्ती र गैँडाको आक्रमणबाट पीडित भएको भन्दै विद्युतीय तारबारको व्यवस्था गर्न सरकारसँग माग गरे ।

बैठकमा सांसद हरिराज अधिकारी, हितबहादुर तामाङ, ज्ञानकुमारी छन्त्याल, सरिता गिरी, सुरेन्द्रकुमार कार्की, सूर्यप्रसाद पाठक, बोधमायाकुमारी यादव, सत्य पहाडीलगायतले आ–आफ्ना जिल्ला र क्षेत्रका समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।