संविधान र संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध

सुर्खेत, असोज ३ । सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माण मुख्य अभिभारा रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

चौथो संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस दिनमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, सामानुपातिक र समावेशी विकाससहितको समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि बढ्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गरेका छन् ।

मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको छ– नेपाली जनताको दशकौँदेखिको बलिदानीपूर्ण संघर्षको ऐतिहासिक उपलब्धि स्वरुप आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२ जारी भएको थियो । जसले जनताको घर आँगनमा स्थानीय सरकारहरुमार्फत सिंहदरबारको अधिकार गाउँमा पुर्याएको छ ।

कर्णाली प्रदेश सरकारले यो वर्षलाई कानून तथा योजना निर्माणका रूपमा लिएको धारणा राख्दै उनले हरेक नागरिकलाई संविधान प्रदत्त अधिकार प्रयोग गर्दै संविधान र संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि हार्दिक अपिल गरेका छन् ।