काठमाडौँ, असोज ३ । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले मङ्गलबार राति भेटवार्ता गरेका छन् ।
सो भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा पुर्याएकोमा खुशी जनाएको अध्यक्ष दाहालको सचिवालयले बताएको छ । उक्त क्रममा पूर्वप्रधानमन्त्री दाहालले आफ्नो दुवै प्रधानमन्त्रीत्वकालमा भएका चीन भ्रमण र ती भ्रमणका क्रममा भएका छलफल र समझदारीको सम्झना गर्दै ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग बनाउनका लागि विशेष जोड दिएका थिए ।
सो अवसरमा उनीहरूबीच ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ विषयमा छलफल भएको र अध्यक्ष दाहाल आफैँले सो प्रस्तावमा समर्थन गर्दै हस्ताक्षर गरेको बताएका थिए । उक्त भेटमा अध्यक्ष दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धिमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रान्सपोर्ट एण्ड ट्रान्जिट’ सम्झौताले दूरगामी महत्व राख्ने प्रस्ट्याए ।
चार वटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय भएको उनको भनाइ छ । उनले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता, समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको मूख्य उद्देश्य रहेको जनाएका छन् ।
भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विकासमा अध्यक्ष दाहालको योगदानको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।
समझदारी र सम्झौताको शीघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार सहयोगको निम्ति तयार रहेको उनले बताएका थिए । तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको विदेश विभाग प्रमुख ताओले जनाएका छन् ।
चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै नान्जिङ पुगेका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गरेका थिए । अध्यक्ष दाहाल चार दिने चीन भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ ।