काठमाडौँ, असोज ४ । एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई सम्बोधन गर्दै आज उनले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताए ।
चीनले अवलम्बन गरिरहेको मित्रता, आपसी लाभ तथा समावेशीताका सिद्धान्तद्वारा निर्देशित छिमेक कूटनीतिको प्रसंशा गर्दै उपराष्ट्रपति पुनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ बलियो, गाढा तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिरहेकाले त्यसमा महत्वपूर्ण उपलब्धि हासिल भइरहेको उल्लेख गरे ।
केही वर्षयता दुई देशबीच पारवहन यातायात सम्झौता, बेल्ट एण्ड रोड इनिसियेटिभ (बिआरआइ) सम्बन्धी समझदारी र रेल परियोजनामा सहयोगसम्बन्धी भएका समझदारी महत्वपूर्ण रहेको उनको भनाइ छ ।
उपराष्ट्रपति पुनले विगत चार दशकमा खुलापन र सुधारको माध्यमबाट चीनले हासिल गरेको आर्थिक वृद्धि र चिनियाँ जनताको जीवनस्तरमा आएको गुणात्मक परिवर्तनको खुलेर प्रशंसा गरे । चिनियाँ राष्ट्रपतिले बिआरआइमार्फत सम्बद्ध राष्ट्रबीच सहयोग अभिवृद्धि गरी मानवताका लागि साझा भविष्य भएको समुदाय निर्माणका लागि लगाडि बढाएको विचारको स्वागत गर्दै उनले त्यसमा नेपालले पनि सहभागीता जनाउन पाएकोमा खुशी जनाए ।
बिआरआइसम्बन्धी द्विपक्षीय समझदारीको कार्यान्वयनमा तीव्रता दिन हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर संरचनाभित्र सहयोग अगाडि बढाउने कुरामा दुवै देश प्रतिबद्ध रहेको उनले प्रस्ट पारे । काठमाडौँ र छेन्दु शहरबीच स्थापना भएको भगिनी सम्बन्धले नेपाल र सिचुवान प्रान्तबीचको सम्बन्धमा नयाँ आयाम बढाएको उनको भनाइ छ ।
नेपालमा गत वर्ष सम्पन्न संघीय संरचना अनुरुपको ऐतिहासिक निर्वाचन पश्चात् मुलुकमा शान्ति, स्थिरता र समृद्धिको ढोका खुलेको भन्दै उपराष्ट्रपति पुनले भने– नेपालको आगामी प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु र सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को बृहत् लक्ष्य प्राप्त गर्नु हो ।
उनले सडक सञ्जाल, रेल्वे, ऊर्जा उत्पादन एवं यसको वितरणजस्ता आधारभूत पूर्वाधारको निर्माण एवं सीमा वारपार रेल्वे, राजमार्ग, सञ्चार, प्रसारण लाइनलगायतका क्षेत्रमा विकास गर्ने लक्ष्य रहेको भन्दै व्यापार घाटालाई सन्तुलनमा ल्याउने उद्देश्यसमेत रहेको प्रस्ट पारे ।
उनले उक्त सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट आएका लगानीकर्तालाई नेपालमा उपलब्ध लगानीका प्रचुर सम्भावनाबाट फाइदा उठाउन र लगानी गर्नका लागि अनुरोधसमेत गरे ।
उपराष्ट्रपति पुनले भने– नेपालको प्रचलित ऐन कानून र नीति लगानीमैत्री रहेका छन्, विदेशी लगानीको सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । आर्जित मुनाफालाई शत्प्रतिशत स्वदेश लैजान पाउने सुविधाको कानूनी व्यवस्था गरिएको छ । नेपालमा लगानी गरेर तपाईहरूलाई लाभ नै हुनेछ भन्ने कुरामा म विश्वास दिलाउन चाहन्छु ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको विषयमा नेपाल भ्रमणका लागि चिनियाँ नागरिकमाझ प्रचारप्रसार गरिदिन चिनियाँ पर्यटन व्यवसायीलाई उनले अनुरोध गरे ।
उक्त मेलामा सहभागी नेपाली उद्यमी, लगानीकर्ता तथा व्यवसायीको चिनियाँ एवं विदेशी समकक्षीसँगको संवाद, अन्तक्र्रिया र सम्झौताबाट दीर्घकालीन सहकार्य र साझेदारी बनाउनका लागि सहयोग पुग्नेमा उनी ढुक्क छन् ।
सन् २००० देखि आयोजना भइरहेको यस मेलाले चीन तथा सहभागी मुलुकलाई व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रतर्फ जोड्दै आएको छ । सो मेलाले व्यापारी, उद्यमी तथा लगानीकर्ताबीच विचार आदनप्रदान, सम्बन्ध स्थापना, अन्तक्र्रिया एवं व्यापारिक सहकार्यको अभिवृद्धि गर्ने अवसर दिलाउँदै आइरहेको छ ।