काठमाडौं, असार २७ । सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गर्दै कडाइका साथ लागू गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता खोलिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म निक्षेप खाता संख्या एक करोड ६६ लाख रहेकामा २०७३ चैत मसान्तसम्म निक्षेप खाता संख्या एक करोड ८८ लाख पुगेको छ । सरकारले चालु आवको बजेट वक्तव्यमा एक व्यक्ति एक खाताको नीति अगाडि सारेको थियो । सो नीतिलाई आगामी आवमा पनि निरन्तरता दिइनेछ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको आव २०७४ र ७५ को मौद्रिक नीति अनुसार प्रत्येक वर्ष निक्षेप खाता खोल्नेको संख्यामा बृद्धि भएको छ । बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म कर्जा संख्या १० लाख ९५ हजार रहेकामा गत चैतसम्म उक्त संख्या ११ लाख ८३ हजार पुगेको छ ।
यसैगरी मोबाइल बैङ्किङका ग्राहकको संख्या २४ लाख २७ हजार पुगेको छ । इन्टरनेट बैङ्किङका ग्राहकको संख्या सात लाख ३५ हजार, जारी भएका बिट कार्डको संख्या ५१ लाख आठ हजार तथा क्रेडिट कार्डको संख्या ६४ हजार पुगेको छ । बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत गर्ने नीति अनुसार २०७३ जेठ मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैङ्क २९ रहेकामा यस वर्ष २८ वटामा सीमित रहेको छ । ‘ख’ वर्गका विकास बैङ्क ६८ रहेकामा यस वर्ष २४ ले घटेर ४४ वटा कायम भएका छन् । ‘ग’ वर्गका वित्त कम्पनी ४४ रहेकामा १३ ले घटेर ३० र ‘घ’ वर्गका लघुवित्त संस्था ४१ रहेकामा १० वटाले बृद्धि भई यस वर्ष ५१ पुगेका छन् ।
गत वर्ष बैङ्क तथा वित्तीय संस्थाको कुल संख्या १८२ रहेकामा यस वर्ष घटेर १५३ वटा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार २०७३ जेठमा बैङ्क तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करिब छ हजार ६४७ जनसंख्याले सेवा प्राप्त गरेकामा यस वर्ष एक शाखाबाट पाँच हजार ८०९ जनाले सेवा प्राप्त गरेका छन् । विसं २०७२ जेठमा जनसंख्या र बैङ्क तथा वित्तीय संस्थाको प्रतिशाखाको औसत अनुपात सात हजार २३२ रहेको थियो ।