काठमाडौं, असोज ५ । तान्जानियाको भिक्टोरिया तालमा हिजो भएको फेरी दुर्घटनामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो उकारामा एमभी नेरेरे नाम दिइएको फेरीमा भएको दुर्घटनामा कैयन बेपत्ता भएको र उनीहरुको खोजी कार्य भइरहेको छ । तान्जानियाका सरकारी अधिकारीहरुका अनुसार १ सय जनाको भने जीवितै उद्धार गरिएको छ भने जसमध्ये ३२ को चाहिँ चिन्ताजनक अवस्था रहेको छ ।
उक्त फेरीमा झण्डै ४ सय जना सवार रहेको र त्यसमध्ये झण्डै २ सय जना यात्रु डुबेको आशंका गरिएको छ । तर अहिलेसम्म यकिन संख्या खुल्न नसकेको सरकारी अधिकारीलाई उद्धृत गर्दै इनडिपेन्डेन्टले लेखेको छ ।
मुगोरारा र उकाला टापुको यात्रामा निस्केको फेरीको क्षमता १ सय जनाको मात्रै भए पनि क्षमताभन्दा निकै बढी यात्रुहरु चढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भिक्टोरिया तालमा आजभन्दा २२ वर्षअघि सन् १९९६ मा पनि फेरी दुर्घटनामा ८ सय जनाले ज्यान गुमाएमा थिए ।