काठमाडौँ, असार २७ । शिशु कति जन्माउने र कति जन्मान्तर बनाउने भन्ने कुराको निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने सभामुख ओनसरी घर्तीमगरले बताइन् । विश्व जनसंख्या दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले महिलालाई यस्तो अधिकारबाट बञ्चित गराउनु नहुने उल्लेख गरिन् ।
यसले महिलालाई उत्पादनशील कार्यमा लाग्न अनुकूल वातावरण बन्ने भएका कारण पनि यो अधिकार महिलाका लागि आवश्यक भएको उनले भनिन् । दुर्गम गाउँमा बस्ने एक महिलाले ६ वटी छोरी जन्माउँदासम्म छोरा पाउनका लागि पतिले बारम्बार दिइरहने दबाबलाई नेपाली समाजको एउटा तीतो सत्यको रुपमा लिन पनि आग्रह गरिन् । सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ का दिन विश्व जनसंख्या दिवस मनाइँदै आइएको छ । नेपालमा सन् १९९० देखि लगातार जनसंख्या दिवस मनाइँदै आइएको छ । विसं २०५६ मा विद्यालय तहमा जनसंख्या शिक्षा विषय पढाउन थालिएपछि नेपालमा जनसंख्या नियन्त्रण सम्बन्धमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
नेपालले यस वर्ष व्यवस्थित परिवार : समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ तीन दिन यो दिवस मनाउँदै छ । संयुक्त राष्ट्रसंघीय जनसांख्यिक कोष (युएनएफए) का राष्ट्रिय प्रतिनिधि जुलिया भ्यालेन्सले जनसंख्या वृद्धिमा नेपाली युवा–युवतीको संख्या आकर्षक रहेको बताउँदै जनसंख्या नियन्त्रणका लागि सरकारले लगानीमा वृद्धि गर्नुपर्ने सुझाव पनि दिइन् । सन् १९८७ मा विश्वमा पाँच अर्ब जनसंख्या पुगेपछि जनसंख्या सम्मेलन (पपुलेसन समिट)ले जनसंख्या दिवस मनाउने निर्णय गरेको थियो । एक अध्ययन अनुसार सन् २०१७ अप्रिल २४ सम्म विश्वको जनसंख्या सात अर्ब ५० करोड पुगेको पाइन्छ ।
विसं २०६८ को जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ पुगेको छ जसमा पुरुषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ र महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार ४६३ छ । त्रिभुवन विश्वविद्यालय जनसंख्या विभागका प्रमुख डा रामशरण पाठकका अनुसार नेपालमा अशिक्षा, गरिबी र परम्परागत सोचाइले जनसंख्या वृद्धि रोक्न सकिएको छैन । छोरा पाउँदा खुशी हुने र छोरी पाउँदा दुःखी हुने नेपाली समाजमा सकारात्मक सन्देशको भावना फैलाउन जरुरी रहेको छ । युएनएफएका अनुसार विश्वमा विवाहित महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका साधन अपनाइरहेका भए पनि उचित ढङ्गले त्यस्ता साधनको प्रयोग भएको भने पाइदैन ।