माल्दिभ्समा देशव्यापी रुपमा राष्ट्रपतिका लागि मतदान सुरु

माले, असोज ७ । माल्दिभ्समा राष्ट्रपति चयनका लागि आइतबार बिहानैदेखि देशव्यापी मतदान शुरु भएको जानकारी गराइएको छ । मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दिभ्सको निर्वाचन आयोगले जानकारी गराएकोे छ ।

माल्दिभ्समा यस पटक दुई लाख ६२ हजार १३५ जना मतदाताले मतदान गर्दै छन् । द्वीप समूहले बनेको माल्दिभ्समा चुनावका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका छन् । मतदानको प्रारम्भिक नतिजा सोमबार बिहान प्राप्त हुने र असोज १४ गतेसम्ममा अन्तिम परिणाम घोषणा हुने स्थानीय सञ्चार माध्यमहरुले जानकारी गराएका छन् ।

विवादको घेरामा रहेको यस पटकको राष्ट्रपतीय चुनावमा मतदानको पूर्वसन्ध्यामा विपक्षी दलको प्रचार कार्यालयमा प्रहरीले छापा मारेको जानकारी गराइएको छ । राष्ट्रपति अब्दुल्ला यामीन र उनका प्रतिस्पर्धी इब्राहिम मोहमद सोलिहले राजधानी मालेमा मतदान गर्ने कार्यक्रम रहेको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् ।