लमही, असोज ७ । साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने अधिकारकर्मीहरुको भनाइ छ । प्रथम अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा सुस्तश्रवण साङ्केतिक भाषालाई राष्ट्रियकरण गर्नुपर्ने राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माको भनाइ छ ।
सुस्तश्रवण भएकाहरुका लागि आफ्नो कुरा व्यक्त गर्ने माध्यम साङ्केतिक भाषा भएकाले यो भाषालाई राष्ट्रियभाषा बनाउनुपर्नेमा उनको जोड छ । बोल्न र आफ्ना कुरा व्यक्त गर्न नसकेकै कारण सुस्तश्रवण भएका व्यक्ति पछि पर्ने गरेको सो संघका अध्यक्ष अजयकुमार शर्माले बताए ।
सुस्त व्यक्तिको मुख्य समस्या नसुन्ने र आफूले साङ्केतिक भाषाबाट बोलेको अरुले नबुझ्ने भएकाले हरेक क्षेत्रमा काम गर्दा पनि यस्ता व्यक्तिलाई समस्या हुने गरेको जनाए ।
अव सबै सरकारी कार्यालय, विद्यालयलगायत सेवा प्रदान गर्ने निकायमा अनिवार्य रुपमा साङ्केतिक भाषा बुझ्ने व्यक्ति राख्नुपर्नेमा उनको जोड छ । तुलसीपुर उपमहानगरपालिकाले सुस्तश्रवणको अधिकारका लागि पहल गर्ने उपप्रमुख माया आचार्यले जनाइन् ।
प्रदेश सरकारले पनि सुस्तश्रवण भएकाको अधिकारका लागि कानून बनाउने विषयमा पहल थाल्ने प्रदेश नं ५ प्रदेशसभा सदस्य उत्तरकुमार वलीले बताए । दाङमा सुस्तश्रवण भएका व्यक्ति पाँच हजारभन्दा बढी रहेका छन् ।
जिल्लाका दुई विद्यालयमा अहिले सुस्तश्रवण भएका विद्यार्थीका लागि पठनपाठनको व्यवस्था गरिएको छ ।