काठमाडौँ, असोज ७ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले बलात्कार, हत्या, हिंसा र बढ्दो महंगीका विरुद्ध विरोधसभाको आयोजना गरी विरोध जनाएको छ । आइतबार काठमाडौंको माइतीघरमा आयोजना गरिएको उक्त कार्यक्रम नेपाल महिला संघ उपत्यकाका समिति र तीनवटै जिल्लामा रहेका महिला संघका तमाम महिला नेतृहरुको सक्रिय सहभागिता रहेको थियो ।
ओली सरकारका अभिव्यक्ति प्रति आक्रोशित हुँदै ओलीको अरिंगाल जुताले कुल्चौं, बलात्कारीलाई कारबाही गर, वढ्दो महंगी नियन्त्रण गर, कानूनी राज्यको पालना गर, प्रट्रोलियम पदार्थको मूल्य फिर्ता गर जस्ता प्ले कार्ड सहित विरोध गरेका थिए । वर्तमान सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार संवेदनहिन बन्न पुगेको र बलात्कार, हत्या, हिंसा झनै मौलाउदैं गएको अवस्थामा ओली सरकार मौन बनेर बसेको आरोप महिला नेतृहरुले लगाएका छन् ।
प्रदर्शनका क्रममा महिला संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् । सरकारका हरेक गतिवीधिहरु तमाम जनताका हक अधिकार कुन्ठित पार्ने खालका भएकाले सर्वसधारण जनतामा निराशा फैलिएको बताएका छन् ।
माइतीघरबाट शान्तिपूर्ण रुपमा सुरु गरिएको विरोध र्यालीले प्रधानमन्त्रीको नाममा लेखिएको पत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर बुझाउँदै सकिएको थियो । सरकारले बलात्कार, हत्या, हिंसा र बढ्दो महंगीका विषयमा तत्काल आफ्ना काम नसच्याए जनता चुप लागेर नबस्ने महिला नेतृहरुको भनाई छ ।