काठमाडौँ, असोज ७ । नेपाली कांग्रेसका प्रखर वक्ता एवम् पूर्वमन्त्री सांसद डा. मीनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने प्रष्ट पारेका छन् । निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएको जिकीर गर्दै सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था नै उचित रहेको उनले बताए ।
आइतबार काठमाडौंमा आयोजित ‘वर्तमान निर्वाचन प्रणाली कति उपयुक्त ?’ विषयक कार्यक्रममा नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर निर्वाचनको मिति घोषणा गर्ने निर्वाचन आयोग कुनै हालतमा पनि यस्तो मान्य हुनै नसक्ने दावी समेत गरका छन् ।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न आफूले पाउनुपर्ने माग गर्दै आएको प्रति रिजालले विरोध जनाएका हुन् । नेता रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरुको बढी हुने भएकाले त्यसमा थप बहसको आवश्यक्ता तत्कालका लागि नरहेको प्रष्ट पारेका छन् ।