महोत्तरी, असार २८ । महोत्तरी जिल्लाको भङ्गहा गाउँपालिकामा सञ्चालित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढि मानिस लाभान्वित भएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा भङ्गहा गाउँपालिकाको परडिया राष्ट्रिय निमाविमा आयोजित एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा ४४५ महिला र ६५५ जना पुरुषले विभिन्न रोगको उपचार गराई लाभ लिएका छन् । शिविरमा बिरामीलाई पञ्चकर्म, ल्याब, कार्मचिकित्सा, शल्य चिकित्सा, बाथरोग, छाला, दम्मा, रुघाखोकी लगायतका सेवा निशुल्क प्रदान गरिएको जिल्ला स्वास्थ्य केन्द्रका प्रमुख डा सुबोध मिश्रले जानकारी गराए ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रबाट डा सिद्धार्थ ठाकुरको नेतृत्वमा आएको आठ जनाको चिकित्सक टोलीले बिरामीलाई उपचार गरेका थिए । त्यस्तै शिविरमा अभिपतकरचूर्ण, त्रिफला, सितोपलादी, हिंगवास्टकचूर्ण, रसनादीक्वाथ लगायत विभिन्न ५० प्रकारका औषधि पनि निःशुल्क वितरण गरिएको जनाइएको छ ।