खानेपानीको सुविधाका लागि पानीका स्रोतमा सम्भाव्यता अध्ययन

ललितपुर, असोज ८ । गोदावरी नगरपालिकाले सबै नगरवासीलाई खानेपानी पुर्याउने हेतुले पानीका स्रोतमा सम्भाव्यता अध्ययन गर्न थालेको छ ।

पानीका स्रोतको प्रयोग वृद्धि गरेर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । हिउँदको समयमा पानीको समस्या बढ्दै जाने गरेको छ । चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने योजना रहेको उनको भनाइ छ ।

कोनाखोला र गोदावरीखोलामा अध्ययन भइरहेको छ । विस्तृत योजना प्रतिवेदन तयार भइरहेको र त्यसको नतिजाका आधारमा काम हुने उनले जनाए । नगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सँगको सहकार्यमा पानीको व्यवस्थापन थालेको हो ।

त्यसका लागि बजेटसमेत विनियोजन भएको छ । कोनाखोलामा ड्याम निर्माण गर्नका लागि सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले यस वर्ष बजेट छुट्याएको छ ।

नगरपालिकाले नगरवासीको पहिलो नारा ‘घरघरमा पानी सहितको धारा’ नारालाई व्यवहारमा उतार्न लागेको प्रमुख महर्जनले बताए । नगरपालिकाभित्र पानीका साना र ठूला गरेर स्रोतहरु रहेका छन् ।

उनले तिनैको प्रयोगबाट सबै नगरवासीलाई पानी पुर्याउन सकिन्छ उनले भने । नगरपालिकाको ठेचो, बाँडेगाउँ, चापागाउँ लगायतका स्थानमा पानीको समस्या बढिरहेको छ । केही वर्षपहिलेसम्म यस स्थानमा पानीको समस्या थिएन ।

बस्ती बढ्दै गएपछि नगरवासीले पानीको अभाव झेल्दै आएका छन् । स्थानीय निकाय, प्रदेश र संघको निर्वाचनमा सबै उम्मेदवारले पानी सबैलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।