औपचारिक चीन भ्रमण सकेर उपराष्ट्रपति पुन स्वदेश फर्किए

काठमाडौँ, असोज ८ । चीनको छ दिने औपचारिक भ्रमण सकेर उपराष्ट्रपति नन्दबहादुर पुन आज नेपाल फर्किएका छन् ।

उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे ।

सो अवसरमा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । उनको स्वागतको लागि नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुख विमानस्थलमै पुगेका थिए ।

चीन भ्रमणको क्रममा उनले सिचुवान प्रान्तको छेन्दुमा सञ्चालित ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ र ‘एक क्षेत्र एक मार्ग’ (बिआरआइ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा सहभागीता जनाएका थिए ।

उपराष्ट्रपति पुनले सिचुवानमा सञ्चालनमा रहेका विभिन्न विकासका परियोजना र विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गरे ।

चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग पनि उनले शिष्टाचार भेट गरेका थिए ।