२० वर्षे सवारी सञ्चालनको प्रतिबन्ध उल्ट्याउने प्रस्ताव

काठमाडौं, असोज ८ । पुराना सवारी साधनको प्रयोगले प्रदूषण र दुर्घटनामा वृद्धि भएको भन्दै २० वर्षे सवारी सञ्चालनमा करिब अढाइ वर्षअघि आफैंले लगाएको प्रतिबन्ध उल्ट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।

काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्षे पुराना गाडी चलाउन दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव ल्याएको हो । गाडी चलाउन सक्ने अवस्था हेरेर काठमाडौं उपत्यका र पोखराबाहेकका क्षेत्रमा २० वर्षे पुराना गाडी चलाउन दिने प्रस्ताव गरिएको मन्त्रालयको स्रोतले जनाएको छ ।

काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्षे सवारी चलाउन दिने सम्बन्धमा ‘भेइकल फिटनेस’ र ‘रोड वर्दिनेस’को आधारमा सवारी परीक्षण गर्ने र परीक्षणबाट उपयुक्त देखिएका सवारी चलाउन दिने मन्त्रालयको प्रस्ताव छ ।

लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने आधारमा मन्त्रालयले यस्तो प्रस्ताव पठाएको मन्त्रालयका एक उच्च अधिकारीले जनाएका छन् ।

काठमाडौं र पोखराको हकमा भने ‘प्रदूषण परीक्षण नगरी २० वर्ष कटेका सवारी प्रतिबन्ध लगाउने’ हालको व्यवस्थालाई भने निरन्तरता दिने उक्त प्रस्तावमा जनाइएको छ ।

यातायात व्यवस्था विभागले गत १ चैतदेखि २० वर्ष पुराना सवारीलाई मुलुकभर चलाउन प्रतिबन्ध लगाएको थियो । यसअघि विभागले फागुन ०७३ देखि नै काठमाडौं उपत्यकामा यस्ता सवारी सञ्चालनमा रोक लगाएको थियो ।

चैत ०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारले २० वर्षे सवारी चलाउन रोक्ने निर्णय गरेको थियो । यस अघि मन्त्रालयले २० वर्षे सवारी चलाउने सम्बन्धमा अध्ययन समिति नै गठन गरेको थियो ।