‘आर्थिक विकास र समृद्धिका लागि सबै एक हुनुपर्ने’

काठमाडौँ, असोज ८ । अब पनि हिंसा र आतङ्कको कुरा गर्नु मुलुक र जनताको हितमा नहुने कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

मकवानपुरको भीमफेदीस्थित महेन्द्र माविको हीरक महोत्सवका अबसरमा उनले मुलुकलाई जातीय विभाजन र विखण्डन गराउने प्रवृत्ति देखा परेकाले आर्थिक विकास र समृद्धिका लागि त्यस्ता प्रवृत्ति विरुद्ध सबै एक भएर उभिनुपर्नेमा जोड दिएका हुन् ।

काबा प्रधानमन्त्री पोखरेलले राष्ट्रिय मुद्दा र विकास तथा समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । उनले भने– यो राष्ट्रिय अभियानमा सामेल हुन म सबै सामु अनुरोध गर्दछु ।

सबै भाषा, धर्म तथा संस्कृति मान्ने जनता र मुलुकको हितका लागि एकै ठाउँमा उभिनुको विकल्प नभएको काबा प्रधानमन्त्री पोखरेलको भनाइ छ ।

उनले विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुका साथै त्यहाँ आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञ समापन गरे । मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र रोजगारी सिर्जना गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए ।

काबा प्रधानमन्त्री पोखरेलले आजै नेपाली सेनाको मध्यपृतना हेडक्वाटर अवलोकन गरी जानकारी लिनाका साथै सेनालाई चाहिने हतियारलगायतका सामग्री उत्पादन गर्दै आएको बहुउद्देश्यीय प्लाष्टिक उद्योग अवलोकन गरे ।