पर्यटन दिवसलाई लक्षित गर्दै होटलहरुमा २० प्रतिशत छुट

काठमाडौँ, असोज ९ । विश्व पर्यटन दिवसको अवसर पारेर होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद्, आरमदायी बनाउनका लागि एवम् आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले बताए । २० प्रतिशत छुट होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुने शाहले बताएका छन् ।

होटलको कोठा पहिले नै बुकिङ गरेर आउने भएकाले खानामा मात्र छुट गरिएको उनले जानकारी गराए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हानको काउन्टरबाट उक्त छुटको कुपन वितरण गरिनेछ । सेप्टेम्बर २७ का दिन पहिलोदेखि अन्तिम उडानमा आउने पर्यटकलाई यो कुपन दिइने हानले जानकारी गराएको छ ।

सेप्टेम्बार २८ र २९ गतेसम्म यस्तो ‘अफर’ उपयोग गर्न सकिने जानकारी गराइएको छ । राजधानी काठमाडौँ मात्र नभइ देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानले बताएको छ । हानअन्तर्गत देशभर करीब दुई हजार होटल रहेका छन् । दिवसकै सन्दर्भ पारेर प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पनि विभिन्न सेवामा विशेष छुटको व्यवस्था समेत गरिएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले दिवसका दिन सडक सांस्कृतिक महोत्सव गर्ने र रात्रीकालीन सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको परिषद्का अध्यक्ष समीर गुरुङले बताए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको छ ।

उक्त अभियानलाई सफल बनाउन हानले सक्रिय रुपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ जस्ले पर्यटन विकासमा थप टेवा पुगोस् । ‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेश’ भन्ने नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटकीय संघ संस्थाको साझेदारीमा यही सेप्टेम्बार २७ मा विविध कार्यक्रमसहित दिवस मनाउने तयारी व्यापक रुपमा अगाडी बढेको छ ।