बङ्गबन्धु गोल्डकपका लागि बन्द प्रशिक्षण शुरु

काठमाडौँ, असोज ९ । यही असोज १५ गतेदेखि बङ्गलादेशको राजधानी ढाकामा हुन लागेको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।

एन्फा मैदान सातदोबाटोमा थालिएको सो प्रशिक्षणमा विराज महर्जनको कप्तानीमा २० खेलाडी सहभागी रहेको नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जजनले बताए । नेपालले साविक विजेता भएका कारण यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा खेल्न पाउने भएको हो ।

अघिल्लो संस्करणको पुरस्कार रकम अन्तिम समयमा प्राप्त गरेपछि नेपालले एक हप्ताभन्दा कम समयको तयारीका साथ उक्त प्रतियोगिता खेल्न जाने भएको छ । यस पटकको टोलीकोसमेत बालगोपाल महर्जनले नै नेतृत्व गर्नेछन् भने कप्तानीको जिम्मेवारी विराज महर्जनलाई नै दिइएको छ ।

थोरै समयको तयारी रहेकाले प्रतियोगिताका लागि साफ च्याम्पियनसिप खेलेको टोली नै जाने एन्फाले बताएको छ । हालै बङ्गलादेशमा साफ च्याम्पियनसिप खेलेको टोलीमा रहेका २० मध्ये १८ खेलाडी नेपाली टोलीमा यथावत छन् । विदेशी लिगमा व्यस्त रहेका गोलकिपर किरण लिम्बू चेम्जोङ र रोहित चन्दको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङलाई राखिएको छ ।

किरण माल्दिभ्स र रोहित इन्डोनेसियाको लिगमा व्यस्त छन् । एन्फाले सोमबार दुई खेलाडीलाई टोलीमा बोलाउँदै बङ्गबन्धु खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । तेज तामाङ नेपाल पुलिस क्लब र विशाल राई मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजनका लागि दर्ता भएका खेलाडी हुन् ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, हेमन्त थापा मगर, हेमन गुरुङ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्ती मगर, र अन्जन विष्ट रहेका छन् ।

असोज १५ देखि २६ गतेसम्म चल्ने सो प्रतियोगीतामा नेपालले पहिलो खेल असोज १६ गते ताजकिस्तानसँग खेल्नेछ । त्यस्तै असोज २० गते हुने दोस्रो खेलमा प्यालेस्टाइनसँग खेल्नेछ ।

समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजकिस्तान छन् भने समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस रहेका छन् ।

सो प्रतियोगीताका लागि नेपाली टोली असोज १४ गते नै त्यसतर्फ जाने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताएका छन् ।