काठमाडौँ, असोज ९ । कतिपय कामहरु कागजमा मात्र सिमित हुन्छन् त्यही कागजमा मात्र सिमित भएको यातायात एकाधिकार तोडिने कुरा व्यवहारमा यथावत् रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएर चर्चा गरीएको यातायात एकाधिकारको वास्तविक रुप दशैँको अग्रिम टिकट बुकिङका बेला छर्लङ्ग भएको जानकारी गराए ।
चाडबाडको मुखमा बिचौलियाको राज चल्ने र टिकट बुकिङकै दिन टिकट सकियो भनी पछि महँगोमा बेच्ने चलन रोकिनुपर्ने उनले बताए । सांसद गणेश पहाडीले चाडपर्वमा हुने गरेको यातायात अव्यवस्थालाई ख्याल गर्दै यसको विक्रितिलाई हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिन माग गरेका छन् । पाँच वर्षमा सकिनुपर्ने राष्ट्रिय गौरवका आयोजना २० वर्षमा पनि नसकिएकाले समयमै सक्ने वातावरण तयार पार्नुपर्नेमा पहाडीले जोड दिए ।
यातायात व्यवसायीले दशैँको अग्रिम टिकट खुला गर्ने विषयलाई एकाधिकारको लेनदेनका रुपमा प्रयोग गरेको सांसद यज्ञराज सुनुवारले आरोप लगाएका छन् । जनताको समस्यालाई समाधान गर्न लाग्नुको साटो कसरी जनतालाई ठग्ने र जनतालाई कसरी मारमा पारौं भनेर लाग्नु अत्यन्त दुखदायी कुरा भएको उनले बताए । सांसद सुनुवारले पप्पु कन्स्ट्रक्सनका बारेमा समितिले थाहा नपाएको जस्तो गर्न नहुने माग गरेका छन् । सांसद लीलानाथ श्रेष्ठले ‘हटी सक्यो भनिएको एकाधिकार अन्त्य नभएको दशैँको मुखमा प्रमाणित भएकाले’ मन्त्रालयको ठोस कार्ययोजना माग गरेका छन् ।
यातायात क्षेत्रमा भएको बेथितिले घण्टौँ जाममा बस्नुपर्दा समिति बैठकमा आउनै ढिला भएको सांसद दुर्गा पौडेलले गुनासो पोखिन । समितिमा निर्माण व्यवसाय कम्पनी खोलेका सांसदलाई नराख्न पनि पौडेलले माग गरीन । त्यस्तै सो बैठकमा धेरै पुल र सडक निर्माणको जिम्मेवारी लिएर समयमा काम गर्न नसकेको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्नुको साटो नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन रु दुई अर्बमा बनाउन छनोट गरेर पुरस्कृत गरिएको प्रति सांसदहरुले विरोध जनाएका छन् । कालोसूचीमा राख्नुपर्ने निर्माण कम्पनीलाई भवन बनाउन दिएर सरकारले के गर्न खोजेको भनीसांसद टोपबहादुर रायमाझीले प्रश्न गरे ।
शहरी विकास मन्त्रालयले कुनै जिल्लामा धेरै कार्यक्रम र कुनै जिल्लामा कार्यक्रम नै नराखी असन्तुलित र अव्यावहारिक काम गरेको प्रति रायमाझी आक्रोशित भए । सांसद केदार सिग्देलले पूँजीगत खर्च बढाउन समितिले सरोकार भएका मन्त्रालयलाई निर्देशन दिनुपर्नेमा जोड दिए । समितिले विकास आयोजनाको अनुगमनसमेत गर्नुपर्नेको धारणा थियो । राष्ट्रिय गौरवका आयोजना भताभुङ्ग अवस्थामा पुगेकाले समितिले सही मार्गमा ल्याउन पहल गर्नुपर्ने सांसद राजेन्द्रकुमार राईले बताए । पछिल्लो समय निजगढ विमानस्थलका बारेमा विभिन्न विषय सार्वजनिक भएको प्रति ध्यान कैन्द्रित गर्न र अनुगमन समेत गर्नुपर्ने सांसद इन्दुकुमारी शर्माले माग गरीन । सरकारको विकास र समृद्धिको नारा पूरा गर्न समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ । सांसद कमला रोक्काले दशैँअघि नै मेलम्चीको पानी राजधानी ल्याउने सरकारी प्रतिबद्धता पूरा नभएकाले आयोजनाको स्थलगत अनुगमन गर्नुपर्नेमा जोड दिइन् ।
बैठकमा सांसदले सदन र समिति बैठक एकै दिन नपर्ने गरी समितिको आन्तरिक कार्यविधि निर्माण गरिनुपर्ने, समसामयिक विषयमा बैठक राखेर सरोकार भएका निकायका अधिकारीलाई बोलाएर निर्देशन दिई भावी कार्यक्रम बनाइनुपर्नेतर्फ सभापति कल्याणी खड्काको ध्यानाकर्षण गराएका छन् । सोहि समय सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै सभापति खड्काले समिति तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाइन ।
कागजमा हटेको यातायात एकाधिकारले व्यवहारमा दुःख दिएको र व्यवहारमा एकाधिकार नहट्दा जनताले दुःख पाएको उनले सुनाइन् । मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन र छलफल गरिने समेत उनले जानकारी गराइन् । त्यस्तै भूकम्पपीडितको समस्या समाधानका लागि पहल गर्ने, पुनःनिर्माणमा आइपरेका समस्या समाधानका लागि सहज वातावरणको सृजना गर्न समितिले सहयोग गर्ने सभापति खड्काको प्रतिबद्धता जनाइन् ।