काठमाडौँ, असोज ९ । विगतदेखि सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको जानकारी गराइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले मगलबार आयोजनास्थलको निरीक्षण गरेका हुन् ।
आयोजना यही असोज ७ गतेदेखि बन्द नै गरेर मर्मत शुरु गरिएको हो । मर्मत आगामी कात्तिक ६ गतेसम्म चल्ने जानकारी गराइएको छ । तोकिएको समयभित्र मर्मत सम्पन्न गरे एक दिन भए पनि थप घाटा ब्योहोर्नु नपर्ने सोचाइमा प्राधिकरण रहेको छ । कूल १४४ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा दैनिक रु तीन करोड ५० लाख घाटा हुने भएकाले एक दिन भए पनि चाँडो मर्मत सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।
मर्मतको बारेमा जानकारी लिन मगलबार आयोजनास्थल पुगेका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरण सञ्चालक समितिका सदस्यले एक दिन भए पनि चाँडो मर्मत सक्न मर्मत कार्यमा संलग्न प्राविधिक एवम् कर्मचारीलाई आग्रह गरेका छन् । यही असोज १२ गतेदेखि आयोजनाको एउटा विद्युत् उत्पादन युनिट बन्द गरिने छ भने २५ दिनपछि पुनः तीनवटै युनिट मर्मत गरी बन्द गरिने जानकारी गराइएको छ । आयोजनामा कूल ४८ मेगावाट क्षमताका तीनवटा विद्युत् उत्पादन युनिट रहेको छ । विशेष गरी आयोजनाको दोस्रो विद्युत् उत्पादन युनिट मर्मतका लागि सबैभन्दा बढी अर्थात् २५ दिन लाग्ने बताइएको छ ।
देशकै सबै भन्दा ठूलो आयोजना बन्द गर्नुपर्दा औद्योगिक करिडोरमा विद्युत् प्रवाह कम हुन पुगेको छ । घरायसी ग्राहकका लागि भने कुनै पनि असर नपर्ने भए पनि औद्योगिक ग्राहकलाई भने आयोजना बन्द हुँदा धेरै समस्या हुने देखिन्छ । आयोजनामा प्रयोग भएको जापानको तोसिबा कम्पनीको विद्युत् उत्पादन गर्ने उपकरणको ‘वारेन्टी’ सकिन लागेकाले मर्मत गर्नुपर्ने बाध्यता आइलागेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन् । यही असोज ७ गतेदेखि नै मर्मत शुरु भएको हो, १४ गतेसम्म ‘वारेन्टी’को अवधि थियो । सो अवधिमा नै मर्मत गर्दा प्राधिकरणले कुनै खर्च व्योहोर्नु पर्दैन, सो अवधिभन्दा पछाडि भएको भए प्राधिकरण आफँैले मर्मत गर्नुपर्ने भएकाले हतार गरिएको प्राधिकरणले प्रष्ट पारेको छ ।
हिउँदको समयमा मर्मत गर्दा देशव्यापीरुपमा नै विद्युत् उपलब्ध गराउन समस्या पर्ने भएकाले वर्षाको समयमा नै आयोजना बन्द गरेर मर्मत थालिएको कार्यकारी निर्देशक घिसिङको जानकारी गराए । आयोजनाको नियमित मर्मत गर्नुपर्ने कार्यसूचीअनुसार नै मर्मत गरिएको जानकारी दिँदै उनले दशैँ तिहारजस्ता ठूला चाडबाडको बीचमा पार्दा विद्युत् आपूर्तिमा समस्या नहुने स्पष्ट पारे । विशेष गरी विद्युत् उत्पादन गर्ने मेशिनको भल्भमा समस्या देखिएको जानकारी गराइएको छ । मर्मतका लागि नेपाली प्राविधिक टोली र जापानी प्राविधिकसमेत संलग्न रहेका छन् ।