न्युयोर्क, असोज ११ । असंलग्न अभियानको सिद्धान्तले यसका सदस्यहरूलाई शान्तिको संस्कृतितर्फ अभिप्रेरित गर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
संयुक्त राष्ट्र संघको मुख्यालयको अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा आज सहभागी हुँदै मन्त्री ज्ञवालीले सो कुरा बताएको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगद्वारा आज जारी एक विज्ञप्तिमा जनाइएको छ ।
यस अभियानका सदस्यहरूले एकतामा आबद्ध भई कसैलाई पनि पाखा नपारी शान्त विश्व निर्माण गर्न योगदान गर्नुपर्नेमा उनले बैठकमा जोड दिएका छन् ।
उनी अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा पनि आजै सहभागी भए । सो बैठकमा उनले गरीबी, असमानता, बेरोजगारी, मौसम परिवर्तन, प्राकृतिक प्रकोप तथा आन्तरिक द्वन्द्व अति कम विकसित मुलुकका प्रगतिमा बाधा भएको जनाएका छन् ।
उनले अति कम विकसित मुलुकको विकासको मार्ग मन्द, लामो, व्यापक अर्थ लाग्ने भएको भन्दै ती मुलुकको आन्तरिक प्रयासलाई सहयोग गर्न पर्याप्त अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको औंल्याए ।
यसैगरी परराष्ट्रमन्त्री ज्ञवाली आज भियतनामको स्वतन्त्रता दिवसका अवसरमा आयोजित स्वागत समारोहमा पनि सहभागी बने । उनले भियतनामका हालै दिवङ्गत भएका राष्ट्रपति त्रान दाई क्वानप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
मन्त्री ज्ञवालीले आजै दिगो विकासका लक्ष्य कार्यान्वयनमा चीनले गरेको योगदानको प्रदर्शन अवलोकन गरेका छन् । सो प्रदर्शन चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेका हुन् ।
यसैगरी परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पारमाणविक हतियार पूर्ण अन्त्य दिवस मनाउन आयोजना गरिएको एक समारोहलाई सम्बोधन गरे ।
उनले नेपालले आम विनाशकारी हतियारका साथै अन्य हतियारको निःशर्त अविस्तारको सिद्धान्त अवलम्बन गरेको जनाए ।