काठमाडौं, असोज ११ । निर्मला पन्त हत्याकाण्डको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्नका लागि । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग माग गरेका छन् ।
निर्मला पन्त हत्याकाण्डको यतिका समय बितिसक्दा पनि सरकार घटनाको चाँडो छानविन गरी दोषी पत्ता लगाउनुको सट्टा सो घटनालाई दबाउनका लागि आलटाल गर्दै आएको उनको आरोप छ । उक्त हत्याकाण्डमा संलग्नलाई पत्ता लगाइ दोषीलाई कारवाहीको भागेदार बनाउन तिर सरकारले कुनै पनि चासो नदेखाएको उनको भनाइ छ ।
निर्मला हत्याकाण्डमा संलग्न दोषीलाई कानुनी दायराभित्र ल्याइ मुलुकमा शान्ति, सुरक्षा कायम गर्नका लागि सरकार गम्भिर नबनेको वरिष्ठ नेता पौडेलको भनाइ छ ।
युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहीबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
उनले अर्को फरक प्रसंग निकाल्दै पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान बनाउनका लागि पनि पार्टी नेतृत्वसँग माग गरे ।
वरिष्ठ नेता पौडेलले रोजगारीको शिलसिलामा प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको भूमिका र महत्व अझ वृद्धि भएको पनि जनाए ।
१० दिन लामो युरोपको बसाईका क्रममा वरिष्ठ नेता पौडेलले त्यहाँका पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागीता जनाएका थिए ।