‘विधान संशोधनका लागि पार्टी सुझाव सङ्कलनमा जुटेको छ’

घोराही, असोज १४ । पार्टी नेतृत्व अहिले विधान संशोधनका लागि जुटेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् ।

आज प्रेस युनियन दाङद्वारा घोराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टी अहिले विधान संशोधनको लागि सातवटै प्रदेशका १२ स्थानमा सुझाव सङ्कलनका लागि जुटेको जनाए ।

संघीय संरचना अनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने भएकाले हाल त्यततर्फ पार्टीको सबै शक्ति लागिपरेको उनले बताए ।

कांग्रेस ऐतिहासिक पार्टी भएकाले लोकतान्त्रिक गणतन्त्र र संघीय संरचना अनुसार पार्टीलाई ढाल्नुपर्ने हुदाँ आफूले उक्त कामलाई जोडदार रुपमा अगाडि बढाएको प्रस्ट पारे । पार्टीले आगामी महाधिवेशन विधान अनुसार नै गरी पार्टीको गतिविधि अगाडि बढाउने उपसभापति निधिको भनाइ छ ।

कम्युनिष्ट सरकारले कुनै पनि काम गर्न नसकेको उनको आरोप छ । विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न नसकेको निधिले आरोप लगाएका छन् ।