विराटनगर, असोज १४ । सरकारले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई कारवाही गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारले दण्डित गर्नेछ उनको भनाइ छ ।
गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षार्थका लागि रहेकाले शान्ति सुरक्षा खलबल्याउने, अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताए । उनले नेपाली जनताले दिएको जनादेश अनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको उल्लेख गरे ।
विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडतालजस्ता कार्य नियन्त्रणमा आएको मन्त्री थापाको भनाइ छ । उनले वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको विचार प्रस्तुत गरे ।
उनले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषीलाई चाँडै कारवाहीको प्रक्रियामा ल्याइने जनाएका छन् । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिने उनले बताए ।
गृहमन्त्री थापाले वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको विचार व्यक्त गरे ।
उनले मुलुकमा अस्थिरता चाहनेले सरकारले राम्रो काम गर्दासमेत सरकारलाई गिराउनका आगि अनेक लाञ्छना गलाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्नका लागि थापा आज विराटनगर पुगेका हुन् ।