काठमाडौँ, असोज १५ । दिनदिनै नेपालीहरुको महान् चाड दशैं नजिँकिदै गर्दा महानगरीय प्रहरी परिसर काठमाडौँले त्यसलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ ।
पत्रकार सम्मेलन गरेर परिसरले आइतबार दशैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई व्यवस्थित र सुदृढ बनाउनका लागि विशेष सुरक्षा योजना बनाएको जनाएको छ । सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले चाडवाडलाई लक्षित गरेर काठमाडौँको सुरक्षा व्यवस्था, मर्यादित र व्यवस्थित बनाएको बताए ।
काठमाडौँभित्र हुने हत्या, अपहरण, ठगी, चोरी, महिला हिसांलगायत घटना न्यूनिकरणका लागि तीन हजारभन्दा बढी प्रहरी परिचालन गर्न लागेको उनको भनाइ छ । उनले व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोवार, बैंक तथा वित्तीय संस्थामा हुने चोरी लुटपाट, टिकटमा हुने ठगी बढ्न सक्ने हुनाले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती मोटर गस्ती सञ्चालन गर्न लागेको बताएका छन् ।
परिसर प्रमुख लामाले बैंक तथा वित्तीय क्षेत्र, यातायात सञ्चालन हुने क्षेत्र, व्यापारिक कारोवार हुने क्षेत्र, होटल रेष्टुराँ, नाकालगायतका क्षेत्रमा विशेष गस्ती परिचालन गरिएको जनाए ।
कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर र हल्चोक टिकट काउण्टरमासमेत प्रहरी खटाउन लागिएको परिसरले जानकारी गराएको छ ।
अति नै व्यस्त सहर काठमाडौंको सुरक्षा व्यवस्थादेखि लिएर यातायातसम्मको व्यवस्थाका लागि परिषरले यस्तो खालको विशेष योजना लिएर अगाडि बढेको हो ।