सुर्खेत, असोज १५ । मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।
आज प्रदेश सरकारको श्रम दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा बोल्दै उनले सरसफाइ मानव जीवनको अभिन्न अङ्ग भएको बताएका छन् ।
अब सरकारले सरसफाइ कार्यक्रमलाई यस प्रदेशका १० वटै जिल्लामा अभियानात्मक तरिकाले अघि बढाउँने मुख्यमन्त्री शाहीको भनाइ छ । यसमा सम्पूर्ण पक्ष जिम्मेवारीपूर्वक लाग्नुपर्ने उनले बताए । पछिल्लो समयमा प्लाष्टिकजन्य चीजले वातावरणीय प्रदूषणको प्रभाव बढ्दै गएको बताउँदै उनले हरेक गाउँ टोललाई त्यसको उचित व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
राजधानी सुर्खेत मात्र नभइ सबै जिल्लालाई सफा, सुन्दर र स्वच्छ बनाउने गतिविधिमा निरन्तरता दिइने उनले जनाएका छन् । स्वच्छ वातावरण, शुद्ध खानेपानी, विकसित तथा शान्त समाज निर्माणमा सरकार आफ्नो यात्रामा अनवरत लागि रहेको उनले जानकारी गराएका छन् ।
हरिडिल आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रा हमालले सरसफाइ सभ्य समाजको परिचय भएको बताइन् । सरकारले शुरु गरेको अभियान हरेक गाउँ, बस्ती, टोल र विद्यालयस्तरमा पुर्याइनुपर्नेमा उनले जोड दिए ।
विद्यालयस्तरबाट बालबालिकामार्फत अभिभावकसम्म सरसफाइको महत्व र प्रभावबारे जानकारी दिइने हमालले बताए । सरसफाइ कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय नागरिक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।