विराटनगर, असोज १७ । जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी र जनमुखी भएर काम गर्नुपर्ने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
आज प्रदेश समन्वय परिषद्को प्रथम बैठकको उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कामलाई अगाडि बढाउन सके समृद्ध नेपाल र सुखी नेपाली बन्नका लागि कति पनि समय नलाग्ने बताए ।
उनले प्रदेश र स्थानीय तहबीच नीतिगत रुपमा सहकार्य हुनुपर्ने बताउँदै दुबै सरकारले प्राकृतिक स्रोत, साधन र सम्पदाको उचित बाँडफाँड गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
स्थानीय सरकारले अधिकारको जथाभावी प्रयोग नगर्नका लागि सुझाउँदै मुख्यमन्त्री राईले जनताको हित र स्वार्थलाई केन्द्रमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
परिषद्को संयोजकसमेत रहेका मुख्यमन्त्री राईले स्थानीय तहमा देखिएका समस्या सुल्झाउनका लागि बैठकले सहयोग पुर्याउने बताए । उक्त कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले नयाँ संरचना अनुसार बनेको स्थानीय तह र प्रदेश सरकारबीच मेलमिलाप हुनुपर्नेमा जोड दिए ।
प्रदेश नं १ अन्तर्गत १४ जिल्लाका १३७ स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका संयोजक एवं सहसंयोजक सहभागी रहेको उक्त कार्यक्रममा प्रदेश समन्वय परिषद्को बैठकसम्बन्धी कार्यविधि, २०७५ को मस्यौदा, परिषद्को अधिकार क्षेत्रको विषय र आवश्यक देखिएका अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
कार्यक्रममा प्रदेश समन्वय परिषदको वर्तमान अवस्था र आगामी कार्यदिशा विषयमा मुख्यसचिव केदार न्यौपाने र प्रदेश समन्वय परिषद्को बैठक सम्बन्धी कार्यविधि, २०७५ को मस्यौदाका विषयमा सचिव शेरजङ्ग कार्कीले प्रस्तुत गर्ने कार्यक्रम छ ।