भक्तपुर, असोज १७ । स्थानीय तहलाई शिक्षा र स्वास्थ्य दिन नहुने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले बताएका छन् ।
आज विश्व मुटुरोग दिवसको अवसरमा भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै उनले स्थानीय तहले शिक्षा र स्वास्थ्यको जिम्मा लिन नसक्ने बताउँदै यसलाई जिल्लामै राख्नुपर्नेमा जोड दिए ।
देशको २४ सय वडामा कुनै पनि स्वास्थ्य संस्था नरहेकाले अब ती वडामा स्वास्थ्य संस्था सञ्चालन गर्न सरकार लागिरहेको जनाउँदै कुनै पनि संस्था सञ्चालन गर्न जागिरे मानसिकता त्यागेर अगाडि बढ्नुपर्ने बताएका छन् । देशमा ८० प्रतिशत जनता गाउँमा रहेको तर गाउँमा १० प्रतिशत डाक्टर पनि नजाने गरेको भन्दै उनले यस केन्द्रका लागि भने आवश्यक डाक्टर पठाउन पहल गर्ने जनाएका छन् ।
मुटु रोग, क्यान्सर, मिर्गौला, कलेजोजस्ता विभिन्न रोग बढ्दै गएकोमा चिन्ता जनाउँदै राज्यमन्त्री यादवले धूमपान र मद्यपानको सेवन गर्ने शिक्षित व्यक्तिको संख्या वृद्धि हुँदै जानु थप चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
उक्त कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले यस अस्पतालमा अहिले मिर्गौला डायोलोसिसका लागि ६००, मिर्गौला प्रत्यारोपणका लागि ४०० र कलोजो प्रत्यारोपणका लागि १८ जना बिरामी पालो कुरेर बसेको जनाएका छन् ।
बिरामीको अत्यधिक चाप बढे पनि जनशक्ति र ठाउँको अभावका कारण बिरामीलाई पालो कुराउनु पर्ने अवस्था आएको उनको भनाइ छ । सरकारले ठाउँ र आवश्यक जनशक्ति उपलब्ध गराए अहिलेको भन्दा तेब्बर सेवा दिन सकिने उनले दाबी गरेका छन् ।
मुटुको ओपन हार्ट सर्जरीसहितको २४ घण्टे मुटु उपचार सेवा सञ्चालन गर्न सक्ने उच्च प्रविधिको उपकरण केन्द्रसँग रहे पनि आवश्यक चिकित्सक नहुँदा मुटुरोग उपचार सेवा २४ घण्टा सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो । २४ सँै घण्टा मुटु रोग उपचार गर्न सक्ने गरी जनशक्ति र ठाउँ प्रदान गर्र्नुपर्ने उनको माग छ ।
कार्यक्रममा मुटुरोग विशेषज्ञ डा मोहनदेव भण्डारीले कोटेश्वरबाट पूर्व दैनिक हुने घण्टाँै जामले धेरै मुटु रोगी बिरामीको ज्यान लिएको बताउँदै पूर्वका बासिन्दाका लागि नजिक एवं सहज सेवा पाउने गरी यस केन्द्रमा मुटुको २४ घण्टे उपचार सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । केन्द्रले अहिले दैनिक मुटु रोग परीक्षणसँगै क्याथ ल्याब सेवा पनि सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा मुटुरोग विशेषज्ञ डा सम्पूणमान तुलाधर, अन्तर्राष्ट्रिय क्षेत्रका डा एलि मियूलियर, केन्द्रका नर्सिङ इञ्चार्ज दुर्गा श्रेष्ठ, क्याथ ल्याब सेवाका नर्स सञ्चिता दुलाललगायतले केन्द्रमा रु २० करोडभन्दा बढीको सुविधा सम्पन्न उपकरणलाई जनशक्ति अभावमा नियमित प्रयोगमा ल्याउन नसकेको भन्दै नेपालमै नभएका अत्याधुनिक उपकरणलाई प्रयोगमा ल्याउन जनशक्तिको व्यवस्था गरिदिन सरकारसँग अनुरोध गरेका छन् ।