‘बम–सरस्वती स्मृति पुरस्कार’ ऋषिप्रसाद लामिछानेलाई

बागलुङ, २९ असार । यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ले प्राप्त गरेका छन् । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले २०४औँ भानु जयन्तीको अवसरमा बिहीबार आयोजित समारोहमा प्रमुख जिल्ला अधिकारी, ऋषिराम तिवारीले प्रदान गरे ।

नगद रु १० हजार राशिको उक्त पुरस्कार बागलुङको मूलपानीमा जन्मी हाल बेल्जियममा रहनुहुने कवि दीपेन्द्र केसीले स्व हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापना गरेका हुन् । नेपाली भाषा र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै लामिछानेलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । पुरस्कार प्रदान गर्दै प्रजिअ तिवारीले पुरस्कारले कवि, लेखकको सिर्जनाकर्ममा थप उत्प्रेरणा मिल्ले उल्लेख गरे ।

पुरस्कार ग्रहण पश्चात बोल्दै साहित्यकार लामिछानेले पुरस्कारले आफूहरुलाई थप जिम्मेवारी बोध भएको प्रतिक्रिया दिएका छन् । पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्षसमेत रहेका लामिछाने साहित्यिक क्षेत्रमा ‘गोर्खे साइँलो’ नामले पनि परिचित छन् । लामिछानेका ‘सम्मोहन’, ‘मुस्कान’, ‘सुत्रमाला’ गजल संग्रह र छन्द कविताको संग्रह ‘कादम्बरी’ प्रकाशित भएका छन् ।