राजविराज, असोज १८ । जनताको इच्छा, आकांक्षा र भावना अनुरुप काम पूरा गर्न नसकेकाले पूर्ण रुपमा सरकार असफल भइसकेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजकिशोर यादवले बताए ।
आज राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सप्तरीद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको समस्या सुल्झाउन सरकारले नसकेको प्रस्ट पारे ।
मधेश आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै उनले मधेश आन्दोलनका क्रममा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले राजपा नेपालले वर्तमान सरकारलाई जनताको विकास र अधिकारको लागि समर्थन दिएको भन्दै संविधान संशोधन गरिनुपर्ने विचार व्यक्त गरे ।
निजगढ विमानस्थल निर्माणका नाममा आठ हजार हेक्टर वन विनाश गर्न लागिएको भन्दै अध्यक्ष यादवले वन विनाश भएपछि प्रदेश नं २ को अर्थतन्त्र कमजोर हुने बताएका छन् ।