नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारले प्रेस स्वतंत्रता र वाक स्वतन्त्रतालाई अंकुश लगाउन खोजेको बताएका छन् । सरकार दुईतिहाइको दम्भमा अनुदार लोकतन्त्रको बाटो तर्फ अगाडि बढेको उनले जानकारी गराए ।
नेपाल प्रेस युनियन भक्तपुर शाखाको आठौं जिल्ला अधिवेशनमा बोल्दै उनले देवानी संहिता कांग्रेसको सरकार भएताका नै निर्माण भएको जानकारी गराउँदै त्यसको साक्षी एमाले भएको स्पष्ट पारे । देवानी सहिता निर्माणका क्रममा कांग्रेस पनि कहीँ चुकेको स्पष्ट पार्दै उनले भने कांग्रेसको पनि गल्ती छ कांग्रेसले आफ्नो गल्ती स्वीकार गरी गल्ती सच्याउन तर्फ लागेको छ अब एमाले पनि आफ्नो गल्ती सच्याउन तयार हुनुपर्छ ।
सरकारले खुलस्तरुपमा लोकतन्त्रको बाटोमा हिड्ने बेला आएको बताउँदै यस्ता गतिविधिले नेपाल धराशायी बन्ने पक्का छ उनले भने । नेपाल सरकारले केही दिनअगाडि कर्मचारीलाई म भ्रष्टाचार गर्दिन भ्रष्टाचाररहित देशको निर्माण गर्छु भनी दिएको तालिम प्रधानमन्त्री स्वयं र मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई समेत दिनुपर्ने बताएका छन् । सबैभन्दा बढी भ्रष्टाचार हुने ठाउँ भनेको प्रधानमन्त्री मन्त्रिपरिषद्का सदस्यहरु एवं राजनीतिक दलका नेताहरुबाट हो यो अभियान विभिन्न राजनीतिक दलका नेताहरु एवं मन्त्रीहरुबाटै सुरु गरे नेपाल सफलताको बाटोतर्फ लाग्ने छ उनले भने ।
कोइरालाले निर्मला पन्त पछि धेरै बलत्कारका घटनाहरु भए पनि सरकार र गृहमन्त्रीका अभिव्यक्ति भने गलत भएको बताएका छन् । नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुले यसो भनिरहँदा घटनाहरु थप शंकास्पद बनेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी मुलुकमा गएर निर्मला हत्याकाण्डका अपराधी १२ वर्षसम्म पनि नसमातिने अभिव्यक्ति प्रति उनले आपत्ति जनाए । अहिलेको अवस्थामा पुलिस प्रशासन निकम्मा बनेको बताउँदै उनले भने दण्डहिनताले यस्ता घटना घटेका हुन् , सरकारका हास्यस्पद कुरा सरकारले सच्याउनु जरुरी छ । नेपाल कता जाँदैछ ? नेपालको अबको बाटो कता हो भने कुरामा सरकारलाई जानकारी हुनुपर्दछ । सरकारले चिनीको मूल्य बढाउँदै गर्दा उखुको मूल्य किन घट्यो भन्ने प्रश्न समेत उनले गरे ।
नेपाली काँग्रेस भित्र फैलिएको गुट उपगुटले नेपाली कांग्रेसलाई गलत बाटोतर्फ डोर्याएको बताउँदै उनले नेतृत्वकर्ताको आचरण सम्वादहीन भएको बताएका छन् । नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुँदा देश कमजोर हुन्छ भन्नेकुरा नेतृत्वले बुझ्नु पर्ने जरुरी भएको उनले स्पष्ट पारे । नेपाली काँग्रेस भित्र सम्वादहीन भएर समस्याको समाधान नहुने बताउँदै उनले भने संवाद गरेर समस्या सुल्झाउन आवश्यक छ ।
नेपाली काँग्रेस भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाले लोकतन्त्रको पक्षमा कलम चलाउन अनुरोध गरेका छन् । लोकतन्त्र संस्थागत गर्नका लागि नेपाली कांग्रेसका भातृ संगठन, शुभेच्छुक संस्थाहरु एक ढिक्का भएर अगाडि बढ्न अनुरोध गर्दै उनले भने हामी एक भए बामगठबन्धनको बहुमतले बनेको सरकारको केही चल्दैन ।