काठमाडौँ, असोज २१ । केही खराब प्रवृति भएका प्रहरीका कारण पुरै प्रहरी सङ्गठनमा नै आँच आउन पुगेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताएका छन् ।
आज प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आयोजित समापन कार्यक्रममा बोल्दै उनले जनताले प्रहरीप्रति गरेको आशा, भरोसा र विश्वास अनुसार सेवा प्रदान गर्नुपर्ने बताएका छन् । सङ्गठनभित्र रहेर गल्ती गर्नेलाई कारवाही नगरेसम्म प्रहरी सङ्गठन कहिले पनि नसुध्रिने बताए ।
नेपाल प्रहरीको मान, सम्मान, इज्जत प्रतिष्ठालाई अगाडि बढाउनका लागि सबैले हातेमालो गरेर काम गर्नुपर्ने महानिरीक्षक खनालको भनाइ छ । लोभ, लालच नगरी हरेक नागरिकको दिलमा बस्ने गरी काम गर्नुपर्नेम उनले जोड दिए ।
महानिरीक्षक खनालले प्रहरीभित्रको सञ्चालन हुने खेलकूद गतिविधिलाई सबै प्रदेशमा लैजान आफूले प्रहरी प्रधान कार्यालयबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताएका छन् ।
नेपाल प्रहरीमा लागेर खेल खेल्ने खेलाडीको भविष्य उज्वल रहेको उनको भनाइ छ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले नेपाल प्रहरीले खेललाई प्राथमिकता दिएको बताएका छन् ।
प्रहरीभित्र खेलाइने खेलले राष्ट्रिय खेलको विकासमा समेत सहयोग पुग्ने उनले बताए । असोज १७ देखि सञ्चालन भएको खेल आज सम्पन्न भएको हो । कूल १० टोली रहेको सो खेलमा ५ नं प्रदेश प्रहरी कार्यालय दाङले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३–२ को सेटले पछि पारेको थियो ।
प्रतियोगिताको प्रथम टिमलाई रु ५० हजार, प्रमाणपत्र र मेडल, दोस्रो टिमलाई रु ३५ हजार, प्रमाणपत्र र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई रु दश हजार नगद दिइएको थियो ।