नेपाली कांग्रेसको राजनीतिमा ओखलढुङ्गा जिल्लाबाट साधारण सदस्य हुँदै २०५४ सालमा जिल्ला सदस्य २०६२–६३ मा कोषाध्यक्ष अनि मनोनित सचिव हुँदै नेपाली कांग्रेसको बाह्रौ महाधिवेशनमा महाधिवेशन प्रतिनिधी र तेह्रौ महाधिवेशनमा जिल्ला सचिवमा निर्वाचित भई ओखलढुङ्गामा नेपाली कांग्रेसको राजनीतिमा आफुलाई अब्बल दर्जाको कसिमा उतार्ने युवा नेता नवराज केसी भर्खरै सम्पन्न दोश्रो चरणको स्थानीय निर्वाचनमा चम्पादेवी गाउँपालिकाबाट अत्याधिक बहुमतले विजय भएका गाउँपालिका प्रमुख हुन् । आफुमात्र हैन आफ्नो गाउँपालिकाका अधिकांश वडाहरु पनि नवराज केसीले नेपाली कांग्रेसको प्यानल सहित विजय गराएका छन् । हँसिलो स्वभावका सरल व्यक्तित्वका धनी केसी जनताको सुख दुःखमा घर घरमा पुग्ने ओखलढुङ्गा जिल्ला वासीका प्रिय युवा नेता मानिन्छन् । उनी अधिकांश समय जिल्ला र जनताकै काममा व्यस्त हुने गर्दछन् । जनताले दिएको जिम्मेवारी पुरा गर्न आफु सदैव मन वचन र कर्मले सदैव लागि रहने ओखलढुङ्गाका युवाहरुका ढुकढुकी सशक्त युवा नेता नवराज केसीसँग लोकसत्ता डटकमका संवाददाताले गरेको कुराकानी :
– तपाई चम्पादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भइसक्नु भएको छ । अव तपाइले आफ्नो गाउँपालिकाका जनताको लागि पहिलो काम के गर्नुहुनेछ ?
मैले जनताको प्रवल आवश्यकतालाई प्राथमिकता दिँदै गर्दा चम्पादेवी गाउँपालिका खानेपानीको अभावमा काकाकूल बन्न पुगेको छ । यहाँका अधिकांश वडाहरुमा खानेपानीको अभावमा मानिसहरु गाग्री बोकेर टाढा टाढा पानी लिन पुग्नु पर्ने अवस्था छ त्यसैले मेरो पहिलो काम भनेको खानेपानीको व्यवस्था गर्नु नै हो । घर घरमा पानी पुर्याएर जनतालाई पानीको सुविधा उपलब्ध गराएपछि म अन्य विकासका कार्यहरुमा दत्तचित्त भएर लाग्ने छु ।
– स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवारी दिँदै गर्दा तपाईले आफ्नो घोषणा पत्र जारी गर्नुभएको थियो र त्यही घोषणा पत्रमा गाउँपालिकाको लागि धेरै काम गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो अब तपाईं निर्वाचित पनि भइसक्नु भयो के अव ती प्रतिवद्धताहरु पुरा गर्नु हुन्छ त ?
अवश्य गर्छु मैले चम्पादेवी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिँदै गर्दा मैले जाहेर गरेका प्रतिवद्धता म पुरा गरेरै छाड्ने छु । चम्पादेवी गाउँपालिकाका प्रत्येक वडामा मोटर बाटो पुर्याई पाँच बर्ष भित्र वा मेरो कार्यकाल भित्र कालोपत्रे गर्नेछु, जसमा पनि साना सवारी साधन आवत जावत गर्न सक्ने ग्राभेलको काम भने छिट्टै थालनी गर्ने छु ।
स्वास्थ्यको क्षेत्रमा रानीवनमा भएको अस्पतालको स्तरोन्नती गरी कम्तीमा २० वटा बेडहरु बनाउन पहल गर्नेछु । यसै गरी पलापु बढी जनसंख्या भएको वडा भएको कारणले गर्दा एउटा सामुदायिक अस्पताल बनाउने काम हुनेछ । असक्त वृद्धाहरुको लागि घरमै वृद्धा भत्ताको सुविधा उपलब्ध गराउने व्यवस्था पनि गर्नेछु ।
– तपाईंले प्रतिवद्धता पत्रमा चम्पादेवी गाउँपालिकामा पर्यटकीय क्षेत्रको विकास गर्ने कुरा पनि उल्लेख गर्नु भएको थियो, तपाईंसँग पर्यटकीय विकासका योजना तथा खाकाहरु के के छन् ?
सर्वप्रथम त चम्पादेवी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउन हिन्दु धर्मावलम्वीहरुको आस्थाको धरोहर चम्पादेवी मन्दिर ओझेलमा परेकाले त्यसको भौतिक पुर्वाधारको विकास गर्दै चम्पादेवीको धार्मिक शक्ति र महत्वलाई उर्जागर गर्नको लागि विभिन्न प्रचार प्रसार गरिनुका साथै यस क्षेत्रको प्रवर्धन र विकासका लागि उचित पहल गर्दै गाउँपालिकाको प्राकृतिक सौन्दर्यता आन्तरीक तथा वाह्य पर्यटक भित्र्रयाउनका लागि बाटो र बत्तीको व्यवस्था गरिनेछ । बाह्य तथा आन्तरीक पर्यटकलाई तान्नका लागि विभिन्न ठाउँमा होमस्टेको व्यवस्था गरिनुका साथै प्राकृतिक सम्पदाको धनी चम्पादेवी गाउँपालिकामा रहेका अन्य सम्पदाहरुको जिर्णोदार तथा निर्माण कार्य गरी यस बाट चम्पादेवी गाउँपालिकाका जनताको आर्थिक उन्नति गरिनेछ ।
– तपाईंले आफ्नो घोषणापत्रमा किसान र बेरोजगार युवाहरुको लागि पनि धेरै काम गर्नेछु भनि उल्लेख गर्नुभएको थियो, त्यो झुटो आस्वासन मात्र हो कि साच्चिकै केही गर्नु पनि हुन्छ ?
मैले आफ्नो घोषणापत्रमा जाहेर गरेका प्रतिवद्धताहरु क्रमिक रुपले पुरा गर्ने छु । म चम्पादेवीको पालिका अध्यक्ष मात्र नभई त्यही गाउँमा जन्मि हुर्की गरेको र आगामी जीवन पनि यही गाउँमा अर्पण गर्ने अठोट लिएको जिम्मेवार नागरिक पनि हुँ । चम्पादेवी गाउँपालिकाका जनतालाई खोक्रो आश्वासन दिए भने प्रत्यक साँझ बिहान मैले उनीहरुसँग फेस गर्नु पर्ने हुन्छ । त्यसैले मैले जाहेर गरेको प्रतिवद्धता पुरा गर्नुपर्ने हुन्छ । कृषक वर्गका लागि उन्नत जातका विउ उपलब्ध गराई वैज्ञानिक खेतीपातीको विकास गरी कृषकको जीवन स्तरलाई माथि उठाउन उत्पादित कृषि वस्तुको बजार व्यवस्थापन गरिनुका साथै बेरोजगार युवाहरुका लागि गाउँमै सस्तो व्याजमा ऋण उपलब्ध गराई विभिन्न व्यवसायहरु संचालनमा सहयोग गर्ने र विभिन्न मुलुकमा वैदेशिक रोजगारमा जानु भन्दा विविध विषयमा तालिम दिई दक्ष बनाई आफ्नै गाउँपालिकामा रोजगारी मूलक कामधन्दा संचालन गर्न सहयोग गर्ने । मेरो पाँच बर्ष भित्रको मूल लक्ष्य भनेको चम्पादेवी गाउँपालिकाको सडक, स्वास्थ्य, शिक्षा र समृद्धि हुनेछ ।
– यति धेरै काम गर्छु भन्ने लक्ष्य लिएर हिँड्नुभएको छ तपाईं कांग्रेस पार्टीको हुनुहुन्छ तपाईंको गाउँपालिकामा अन्य विभिन्न पार्टीहरु पनि छन् के तपाईंको लक्ष्य पुरा हुन देलान् त ?
अवश्य हुन्छ किनकी मैले जिते पनि अन्य पार्टीका साथीहरुले जितेका भए पनि सबैको उद्देश्य एउटै गाउँपालिकाको विकास गर्नु हो । आस्था जता भए पनि सबैले चाहेको विकास हो र विकास गर्ने कार्यको बाधक कोही हुन सक्दैन । अन्य कुरामा मत मतान्तर होला तर सबैको चाहना समृद्ध गाउँपालिका अवधारणा हो ।
– अन्त्यमा लोकसत्ता मार्फत चम्पादेवी गाउँपालिका बासीलाई के भन्न चाहानुहुन्छ ?
सर्वप्रथमत मलाई अमूल्य मतदान गरी विजयी गराउनु भएकोमा हार्दिक आभार प्रकट गर्न चाहान्छु । तपाईंहरुको साथ सहयोग यसै गरी सदैव रही रहेमा म यस गाउँपालिकामा विकास निर्माण गरी नमुना गाउँपालिकाको रुपमा स्थापित गरी यहाँहरुको आसा भरोसालाई टुट्न दिने छैन भन्ने बचनबद्धता गर्दछु ।
चम्पादेवी गाउँपालिका नमुना गाउँपालिका बन्नेछ
0
Shares