फोहर प्रभावित बासिन्दालाई एम्बुलेन्स

बेत्रावती, असोज २२ । उपत्यकाको फोहर फ्यालिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाका बासिन्दालाई सेवा प्रवाहका लागि काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ ।

फोहरबाट प्रभावित बन्दै आएका बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमति अनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गरे ।

फोहरका कारण त्यहाँका बासिन्दा बिरामी हुँदा अस्पताल लैजानका लागि हुने समस्याको समाधानका निम्ति सो एम्बुलेन्स प्रदान गरेको र पूर्वसहमतिहरू आगामी दिनमा क्रमशः कार्यान्वयन गर्दै अगाडि बढ्ने प्रमुख शाक्यले बताए ।

कार्यक्रममा ककनीका अध्यक्ष तामाङले दुई वर्षको लागि भनेर फोहर फाल्न थालिएको सिसडोलमा निरन्तर १३ वर्षसम्म फालिदै आएकाले पूर्वाधार सुधार एवं विकल्पमा पहिचान गरिएको स्थान बञ्चरेडाँडामा लैजानका लागि तयारी गर्न अनुरोध गरे ।

वि.सं २०६२ जेठ २२ गतेदेखि काठमाडाँै उपत्यकाको फोहर विसर्जन गर्न थालिएको यहाँको ककनी गाउँपालिकाका–१ र २ मा पर्ने ओखरपौवाको सिसडोलमा हाल दैनिक करीब एक हजार मेट्रिकटन फोहर फालिँदै आएको छ ।

सिसडोल भरिन अब दुई महीना मात्र बाँकी भए पनि विकल्पको स्थानमा पूवार्धार तयार गर्न ढिलाइ भइरहेको छ । सिसडोलदेखि करीब दुई किलोमिटर दूरीमा पर्ने ओखरपौवाको बञ्चरेडाँडामा २५ वर्षसम्म फोहर फाल्न सकिने विकल्प देखिए पनि पूर्वाधार निर्माणमा अन्योल देखिएको छ ।