नेपालगञ्ज, असार ३० । नगरको समग्र विकास तथा सुशासनयुक्त शासन व्यवस्थाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले आठबुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख डा धवलशम्शेर राणाद्वारा सार्वजनिक गरिएको प्रतिबद्धतामा सडकमा फोहोर गर्ने कार्यलाई तत्काल व्यवस्थापनका लागि नगरमा दुई हजार डस्टबिन वितरण गर्ने र नेपालगञ्जको फुलटेक्रादेखि पुरैनीसम्मको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसमा निर्माणाधीन डिग्री ब्लक र छात्रावास निर्माण कार्य पूरा गर्ने, नेपालगञ्जमा रहेका अव्यवस्थित पशु बधशाला व्यवस्थित गर्ने, उपमहानगरलाई सरसफाइयुक्त र व्यवस्थित बनाउन आधुनिक घुम्ती शौचालयको व्यवस्थाका व्यवस्था गर्ने र सुझाव पेटिका व्यवस्थित गरी हरेक हप्ता सुझाव पेटिकामा प्राप्त सुझावका आधारमा गुनासो सुनुवाइ गरिने विषय पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।
त्यसैगी नगर प्रमुख राणाले नगरको पुरानो बजार त्रिभुवन चोक क्षेत्रको सडक विस्तार गरी व्यवस्थित बनाउने योजना तीन महिनाभित्र पुरा गर्ने बताए । सो योजना सञ्चालनका लागि नागरिकले आफ्नो घर संरचना त्यस अवधिमा नभत्काए डोजर लगाएर भत्काउने चेतावनीसमेत दिएका छन् ।