नेका नेता जोशीको निधन, कांग्रेसले तीन दिन शोक मनाउन

काठमाडौं, असार ३० । नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको हिजो साँझ निधन भएको छ । नेपाली कांग्रेसका त्यागी नेता राहरी जोशीको निधनमा नेपाली कांग्रेसले तीन दिन शोक मनाउने भएको छ । शोकमा एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ । नेका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बसेको कांग्रेसको आकस्मिक बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै असार ३०, ३१ र साउन १ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरिएको छ । साथै साउन १ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय पनि भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

दम र निमोनियाको उपचारका क्रममा नेता जोशीको हिजो साँझ ७ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको हो । घरको शौचालयमा लडेर चोट लागेपछि जोशीलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए । सर्लाहीमा विसं १९८३ जन्मिएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित थिए । उनी काँग्रेसमा अहिलेका नेतामध्ये सबैभन्दा अग्रज तथा पुराना नेता हुन् । जोशी अविवाहित थिए । आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा जीवन विताएका जोशी विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । काँग्रेसले नेता जोशीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र २००७ सालको ऐतिहासिक जनक्रान्तिमा अग्रणी भूमिका निर्वाह गरेका जोशीको बिहीबार साँझ निधन भएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना प्रकट गरेको छ । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिन उनको पार्थिव शरिरलाई कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने नेपाली कांग्रेसले जनाएको छ ।