काठमाडौँ, असोज २५ । अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारणले गर्दा नेपालमा मानसिक रोगीहरूको संख्या दिनानुदिन वृद्धि हुदै गएकोमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, (ओईसीडी)को संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बुधबार सम्पन्न मानसिक स्वास्थ्यसम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनमा भाग लिँदै उनले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उपप्रधानमन्त्री यादवले मानसिक स्वास्थ्य समस्या, अल्पविकसित र विकासोन्मुख देशहरूको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्याका रुपमा रहेको विचार व्यक्त गरे ।
निम्न तथा मध्यम आय भएका राष्ट्रका हरेक पाँच जनामध्ये एक जनामा मानसिक रोगको समस्या रहेको बताए । उनले दक्षिण एशियाको कूल जनसंख्याको २० प्रतिशत जनता मानसिक रोगबाट पीडित भएको उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सम्मेलनमा उपप्रधानमन्त्री यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा अङ्गिकार गरेको जनाउँदै नेपाल सरकार न्यूनतम खर्चमा सरल र सहज पहुँचसहित स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको प्रस्ट पारे ।
उनले मानसिक रोगको उपचारको सरलीकरणमा पनि नेपाल सरकारले विशेष ध्यान दिएको बताएका छन् ।