फ्रेण्ड्स क्लबलाई पछि पार्दै थ्री स्टार विजयी

काठमाडौँ, असोज २५ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा थ्री स्टार क्लबले फ्रेण्ड्स क्लबलाई २–१ हराउँदै विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई पाखा लगाउँदै विजयी खाता खोलेको हो । जीतसँगै थ्री स्टारले शीर्ष तीन अङ्क जोडेको छ ।

 थ्री स्टारले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल बनायो । उसको जीतमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले एक–एक गोल गरे । विष्टले खेलको पहिलो हाफको १७औँ मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै खेलको ८३औँ मिनेटमा थ्री स्टारका अर्का खेलाडी चेम्जोङले थप एक गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । यता फ्रेण्ड्स क्लबका विकास लामाले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल फर्काएका थिए ।

सोही मैदानमा आजै हुने दोस्रो खेलमा जाउलाखेल युथ क्लब र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा गर्नेछन् ।