दाङ, असोज २५ । सवल राष्ट्रिय जनमुखी प्रशासन आजको आवश्यता रहेको सभामुख कृष्णबहादुर महराले बताएका छन् ।
आज प्रहरी दिवसको अवसरमा प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल प्रहरीले जनताका यावत समस्यालाई एकिकृत गरी जनभावना अनुरुप काम गर्नुपर्ने भन्दै सभामुख महराले प्रहरीलाई निर्भिक र निडर भएर काम गर्न अनुरोध गरेका छन् ।
प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले अमर प्रहरीको परिवारलाई प्रदेश सरकारले प्याकेजमा सहयोग गर्ने बताए । उनले द्धन्द्धमा मारिएका परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि प्रदेश सरकारले नीति ल्याउने जनाए ।
उक्त अवसरमा अमर प्रहरी परिवारका तर्फबाट निर्मला थापाले अमर प्रहरीलाई शहीद घोषणा गर्न माग गरिन् । सरकारकै काममा खटिँदा सहादत प्राप्त गरेकालाई सरकारले शहीद घोषणा नगर्दा पीडित परिवारलाई अझ पीडा थपिएको उनको भनाइ छ ।
सो अवसरमा ५ नम्बर प्रदेशभित्र रहेका विभिन्न जिल्लाका उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।