छात्रवृत्ति उपलब्ध गराउन यबनिधि तिवारी स्मृति कोष स्थापना

काठमाडौँ, असार ३० । तनहुँच रामपुरटारको चोक माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यका साथ यबनिधि तिवारी तथा मुकुन्द तिवारी स्मृति कोष स्थापना गरिएको छ । स्थापना गरिएको उक्त कोष रु दुई लाखको रहेको छ ।

तनहुँचोक चिसापानी नयाँ गाँउ निवासी नीलकुमारी तिवारीले आफ्ना पति शिक्षाप्रेमी तथा समाजसेवी स्व. यबनिधि तिवारी एवं छोरा मुकुन्द तिवारीको स्मृतिमा सो कोषको स्थापना गरेका हुन् । शिक्षाप्रेमी यबनिधि तिवारी विगतमा लामो समयसम्म सो विद्यालयको सञ्चालक समितिको अध्यक्ष रहेका थिए ।

तनहुँ जिल्लाको भानु नगरपालिका–१० स्थित चोक माध्यमिक विद्यालयमा हालै आयोजित कार्यक्रममा पत्रकार रमेश तिवारीले विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठ तथा प्रधानाध्यापक बुद्धिसागर न्यौपानेलाई सो अक्षय कोष रकम हस्तान्तरण गरेका हुन् । विसं १९९२ मा स्थापित सो विद्यालयमा तनहुँ र लमजुङ जिल्लाका गरी ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।