दाङ, असोज २८ । विकास निर्माणका काममा सबै पार्टी एकजुट भएर लाग्नुपर्ने सभामुख कृष्णबहादुर महराले बताएका छन् ।
तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाद्वारा आज आयोजित बडादशैँ, दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विविध कारणले पानीका मुहान सुक्दै गएकाले संरक्षणका लागि सबै एकजुट भएर ठोस योजना ल्याउनुपर्नेमा जोड दिए ।
दाङमा पानी सञ्चित गर्नका लागि माथिल्लो उत्तरी क्षेत्रको चुन ढुङ्गा निकासी रोकेर त्यस स्थानमा बाँसको बिरुवा रोपी हरियाली बनाउनुपर्ने उनको सुझाव छ ।
पानीको दीर्घकालीन समस्या समाधानका लागि बाँध निर्माण तथा ठूला नदीलाई फर्काउनुपर्ने उनको भनाइ छ ।
राष्ट्रियसभा सदस्य कोमल ओली, प्रदेशसभा सांसद उत्तरकुमार वली लगायतले पानी मानिसका लागि नभैनहुने भएकाले गुणस्तरीय पानी वितरणका लागि सम्बद्ध उपभोक्ता समिति सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।