काठमाडौं, कात्तिक ९ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको यत्तिका दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले यसको नैतिक जिम्मेवारी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लिनुपर्ने बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले गृहमन्त्रीले आफुले हत्यारा पत्ता लगाउन सकिन भन्दै नैतिक जिम्मेवारी लिनुपर्नेमा जोड दिए ।
आयोजित साक्षात्कारमा बोल्दै विद्यान मस्यौदा संशोधन समितिका प्रवक्तासमेत रहेका उनले भने- निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ९२ दिन भयो, तर सरकारले हत्यारा पत्ता लगाउन सकेको छैन। कञ्चनपुरका जनताले बलात्कारी र हत्यारा पक्राउ गर्न माग गरेका छन्। चाँडोभन्दा चाँडो वास्तविक अपराधी पत्ता लगाउनुपर्छ। प्रहरी अधिकृतलाई बर्खास्त गरेर मुल विषय र आफ्नो दायित्वबाट सरकार पन्छिनु नहुनेमा उनले जोड दिए।
उनले निर्मला पन्तको बलात्कारपछिको हत्या जघन्य अपराध भएकोले सरकारले अहिलेसम्म अपराधी पत्ता लगाउन नसक्नु सरकारको लाचारिपन भएको आरोप लगाए। यसले सरकार असफलतातर्फ गएको संकेत देखा परेको उनको भनाइ छ। सरकारको काम भनेको शान्ति, सुरक्षा कायम गर्नु र जीउ धनको रक्षा गर्नु भएको बताउदै तर यहाँ सरकार यस्तो काम गर्नबाट चुकेको उनले बताए। निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्नुपर्नेमा जोड दिदै उनले मुल विषयवस्तुलाई नअलमलाई अपराधीलाई कारबाही गरिनुपर्ने धारणा व्यक्त गरे ।
नेता लेखकले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण कञ्चनपुरको मात्रै विषय नभएर राष्ट्रिय विषय भएको बताउँदै सरकार आफ्नो मुल दायित्वबाट पछाडि हट्नु नहुने बताए । वास्तविक अपराधी पत्ता लगाउन भएको ढिलाइले सरकार आँफै अपराधी संरक्षण गरिरहेको छ भन्ने जनताको गुनासो रहेको उनको भनाइ छ।
फरक प्रसङ्ग निकाल्दै उनले संघीय सरकारले बनाउनुपर्ने संघीय कानुनहरु निर्माण गर्न ढिलाई गरिरहेको आरोप लगाए। यसै कारण अहिले संघ र प्रदेशबीच द्वन्द्व बढेको उनले बताए।उनले भने- प्रदेश प्रहरी प्रदेश सरकारले बनाउने हो। अहिले संघीय सरकारले संघीयताविरोधी गतिविधिहरु गरिरहेको छ। ७ वटै प्रदेशबाट मुख्यमन्त्रीहरुले यस्तो गुनासो गरिरहेका छन्। सिंहदरबारको सरकारले संघीयता चाहेको छैन भनेर उहाँहरुको गुनासो छ। ७ वटा प्रदेशमध्ये ६ वटामा त नेकपाकै मुख्यमन्त्रीहरु छन्। तर, उहाँहरुले संघीय सरकारविरुद्ध बोल्ने हिम्मत गर्नुभएको छैन्।
संघीय सरकारले समयमै संघीय कानुन नबनाउनाले प्रदेश र केन्द्रबीच द्वन्द्व बढिरहेको उनको भनाई छ। उनले सरकार गठन भएको ८ महिना बितिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म अन्तर प्रदेश परिषद बैठक नराखेकोमा आपत्ति जनाए।
आफूहरु पार्टीको विधान संशोधनको मस्यौदालाई अन्तिम रुप दिईसकेको बताउँदै उनले अबको दुई तीनदिनभित्रै केन्द्रिय कार्यसमितिमा पेश गर्ने बताए। हामी अब बस्ने केन्द्रिय कार्यसमितिमा प्रस्तुत गर्छौं उनले भने-हामी तयारी अवस्थामा छौं।’ उनले आफूहरुले सभापतिलाई असिमित अधिकार दिने व्यवस्था विधानमा नगरेको पनि बताए ।
कुनै एक जना नेतालाई हेरेर विधान संशोधन नगरेको बताउदै उनले भने- सभापतिलाई असिमित अधिकार दिन लागियो भनेर बाहिर चलाईएको हल्ला निरर्थक चर्चा हो। विधान संशोधनका कारण महासमिति बैठक कुनै पनि हालतमा नसर्ने उनको जिकिर छ।