काठमाडौं, कात्तिक ११ । सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुप्रति भएको दुव्र्यवहारप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ ।
यातायात व्यवस्था विभागमा समाचार संकलनका लागि पुगेका सगरमाथा टेलिभिजनका संवाददाता श्रेष्ठ र क्यामेरापर्सन हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुव्र्यवहार गर्दै धम्क्याएकोप्रति नेपाल प्रेस युनियनका महासचिव अजयबावु सिवाकोटीले विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण जनाएका छन् ।
भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियनले विरोध जनाएको छ । सार्वजनिक सेवाको क्षेत्र र त्यहाँबाट दिइने सेवाको विषयलाई समाचार बनाउनका लागि पहिले नै अनुमति लिनुपर्ने भन्दै पत्रकारलाई धम्क्याइनु निन्दनीय भएको युनियनको ठहर छ ।
सार्वजनिक सेवा आम नागरिक र सेवाग्राहीको पहुँचमा हुनुपर्नेमा यातायात व्यवस्था विभागका उच्च अधिकारीको तहबाटै गरिएको हर्कत सार्वजनिक सेवाको क्षेत्रलाई आम नागरिकको पहुँचबाट टाढै राख्न खोजिएको वा नियन्त्रण गर्न खोजिएको युनियनको भनाइ छ ।
जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यलय गोप्य सयन कक्ष हैन भन्ने कुरा निर्देशक साहले बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
व्यक्तिगत प्रयोजनमा नभइ सार्वजनिक गर्ने उदेश्यले खिचिएका तस्विर तथा दृश्यमा मुलुकी संहिताको देवानी र फौजदारी कानुनलाई दुरुपयोग गर्ने आसयलाई गलत व्याख्या गरेर सञ्चारकर्मीलाई हतोत्साहित बनाउने कार्यप्रति युनियन निन्दानीय छ ।
सञ्चारकर्मीलाई हतोत्साहित गर्ने धम्क्याउने लगायतका पदिय मर्यादा विपरितका काम गर्ने निर्देशक साहलाई आफ्नो कमजोरी स्वीकार गर्दै क्षमायाचना गर्नका लागि युनियनले अनुरोध गरेको छ । अन्यथा निर्देशक साहको कार्यको भण्डाफोर गर्दै सार्वजनिक रुपमा प्रतिवादमा उत्रने युनियनको चेतावनी छ ।