प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवासमै बस्ने

काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा आएको समस्याका कारण मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमैं बस्ने भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने गरेको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री अस्वस्थ भएकाले प्रधानमन्त्री निवासमा बस्ने निर्णय भएको हो । मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

शुक्रबारको बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आइतबारका लागि सारिएको थियो ।

रुघाखोकीले सताएका उनलाई संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले आराम गर्न सुझाएका छन् । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढ्ने खतरा भएपछि निवासमा नै आराम गर्न चिकित्सकले सुझाव दिएका हुन् ।

चिसो बढेसँगै प्रधानमन्त्री ओलीलाई रुघाखोकीले सताएको प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका डा दिलिप शर्माको भनाइ छ ।