राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निभाउन आग्रह

सुर्खेत, कात्तिक ११ । राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निभाउनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अनुरोध गरेका छन् ।

अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बनेको बताउँदै उनले भने– तीन वटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, संघीय संरचना अनुसार आफ्नो भूमिकालाई पनि बढाउनुपर्छ ।

राष्ट्रिय योजना आयोगद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित दिगो विकास लक्ष्य मैत्री योजना निर्माण, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कर्णालीको विकासमा योजना आयोग अलि बढी केन्द्रित हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ ।

उनले आयोगसँग मुलुकको विकासको स्पष्ट खाका र समग्र तथ्याङ्क हुनुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री शाहीले भने– यहाँ भौगोलिक विकटता धेरै छ, छरिएका बस्ती छन्, छरिएका बस्तीलाई एकीकृत गर्न कस्ता योजना अघि बढाउँदा प्रभावकारी होला आयोगले विस्तृत अध्ययन गरिदेओस् ।

मुख्यमन्त्री शाहीले कर्णाली सरकारले चालू वर्षलाई सम्भाव्यता अध्ययनका रुपमा लिइएको बताए । उनले भने– यो वर्ष हामी अध्ययन गर्छौं, प्रदेश र नेपाल सरकारको बजेटबाट कति काम गर्न सक्छौँ त्यसको लेखाजोखासँगै विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गर्छौं ।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारबीच द्वन्द्व नभई आपसी समन्वय हुन सके मात्र संघीयता सफल हुने बताए ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, आयोगका उपाध्यक्ष डा पुष्प कँडेल तथा सदस्यद्वय मीनबहादुर शाही र सुशील भट्टले कर्णालीको विकास तथा आयोगको भूमिकाका सन्दर्भमा आ–आफ्नो धारणा राखेका थिए ।