वीरगञ्ज, कात्तिक १२ । नेपालीहरुको महान चाँड खासगरी तराई भुभागमा मनाइने र लोक आस्थाको पर्वका रुपमा रहेको छठपर्वको तयारी तिव्र गतिमा भइरहेको छ । अहिले हरेक पोखरी सजाइने अन्तिम चरणमा पुगेको छ ।
स्थानीयवासीको सहयोगमा वीरगञ्जको विभिन्न पोखरीहरुलाई विशेषरुपमा सजाइने काम भइरहेको जानकारी गराइएको छ । कतिपय पोखरी तथा घाटमा सरसफाइको काम तिव्र हुँदै गइरहेको छ ।
नेपालमा बसोबास गर्ने तराईका बासिन्दाको लागि छठ पर्वको छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको घरीहर्वा, नगवा, रानीघाटलगायतका पोखरी तथा सरोवरसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सजाइने काम भइरहेको छ । स्थानीयवासीका अनुसार प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । छठको लागि आवश्यक पर्ने सामनाको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड लागेको छ ।
विगत वर्षहरुमा भन्दा यस वर्ष स्थानीयवासीका अनुसार छठको आवश्यक पर्ने सामानको मूल्यमा निकै वृद्धि भएको छ । छठको लागि एक महीना पहिलेदेखि जोहो गर्ने काम शुरु भए पनि मुख्य विधि कात्तिक २६ गते पञ्चमीको दिनदेखि प्रारम्भ हुनेछ ।
यस पर्व गर्नाले सुख समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ । महाभारतकालमा द्रोपती र अनुसुइयाले पनि छठको व्रत बसेको धार्मिक ग्रन्थमा उल्लेख रहेको बताइएको छ । यसले उनीहरूमाथि आइपरेका विपत्तिबाट छुटकारा पाएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको पाइन्छ ।