रुकुम, कात्तिक १२ । सरकारले जनताको इच्छा अनुरुप काम गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले बताएका छन् ।
नेपाल प्रेस युनियन रुकुम पश्चिमद्वारा आज सदरमुकाम मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा नेता कँडेलले वर्तमान सरकार जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप लगाए ।
दुई तिहाइको सरकार भएकाले वर्तमान सरकारबाट देशवासीले ठूलो अपेक्षा गरेकाले सरकारले सो अपेक्षा पूरा गर्नुपर्ने उनको भनाइ थियो । दुई तिहाइको सरकार बनेपछि अब केही हुन्छ कि भन्ने हामीलाई पनि लागेको थियो उनले भने– सरकारको हालसम्मको काम हेर्दा अब केही हुन्छ भन्ने आश मरेको छ ।
निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता नलाग्नुले पनि सरकार शान्ति सुरक्षा कायम गर्न र पीडितलाई न्याय दिने कुरामा निकै चुकेको उनको आरोप थियो ।
उनले एक/दुई प्रहरी अधिकारीलाई बर्खास्त गर्दैमा सरकारको दायित्व पूरा नहुने प्रस्ट पारे । प्रतिपक्षमा रहेर कांग्रेसले सरकारको आलोचना मात्र नगरी सरकार सञ्चालनका लागि मद्दत गरिरहेको उनको भनाइ छ ।