बैतडी, साउन २ । साउन महिना लागेसँगै विभिन्न ठाउँका शिवमन्दिरहरुमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको पाइन्छ । साउनको पहिलो सोमबार आज बैतडीको शक्तिपीठमा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनालाई बत्ती बाल्ने महिनाका रूपमा समेत लिने गरिएकाले मन्दिरमा बत्ती बाल्ने दर्शनार्थीको उत्तिकै भीड लाग्ने गर्छ । यो महिनामा मन्दिरमा पूजाआजा गरेमा मनोकामना पुरा हुने जनविश्वास रही आएको छ । साउन महिनामा मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको अनिरुद्र मन्दिरका पुजारी गणेशदत्त अवस्थीले बताए । बैतडीमा सातबैनी भगवती र सातभाइ केदार देवताका मन्दिर रहेकाले भारतीदेखि पनि दर्शनार्थीहरु यस मन्दिरको दर्शन गर्न आउने गरेको स्थानीयवासीले बताएका छन् ।
जिल्लाका त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको महाकाली साहित्य सङ्गम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए । जिल्लाको सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिरमा साउनको महिनाभरि दर्शनार्थी दर्शन गर्न जाने गर्दछन् । साउन महिनाभरि मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रहि आएको छ ।