भानु नगरपालिकाद्वारा जनताको गुनासो सुन्नका लागि मोबाइल एप्स संचालनमा

दमौली, कात्तिक १३ । सर्वसाधारण जनताको गुनासो सुन्नका लागि तनहुँको भानु नगरपालिकाले मोबाइल एप्स सञ्चालन गरेको छ ।

सर्वसाधारणले राखेको गुनासो सम्बन्धित निकायसम्ममा सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालन गरेको हो । नगरपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यका साथ मोबाइल एप्स सञ्चालनमा ल्याइएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीको भनाइ छ ।

प्रविधिको विकाससँगै मोबाइल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि आफ्नै एप्स सञ्चालनमा ल्याएको नगरपालिकाले जानकारी गराएको छ ।

नगर प्रमुख गौलीले भने– सबैका हातमा मोबाइल फोन छन्, मोबाइलको प्रयोग गरेर सबै सुविधाको विषयमा जानकारी दिन हामीले आफ्नै एप्स बनाएका हौं, नगरका काममा पारदर्शिताको लागि मोबाइल एप्स एउटा राम्रो प्रयोग हुनेछ ।

मोवाइल एप्समा नगरपालिकाको परिचय, नगरपालिकाकाले दिने सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, ऐन कानून, वडा विवरण, महत्वपूर्ण स्थान, आपतकालीन नम्बर समावेश गरिएको सूचना प्रविधि अधिकृत अजन्ता ढकालले बताए ।